माओवादीको भागमा परेका सात र ११ राज्यमन्त्री चयन गर्न दाहाल, वैद्य र भट्टराईबीच चर्को विवाद

काठमाडौ – माओवादीलाई आफ्नो भागमा परेको सात र ११ राज्यमन्त्री चयन गर्न धौधौ भएको छ । चर्को विवादका कारण पार्टी केन्द्रीय कार्यालयमा बिहीबार करिब एक घन्टा बसेको स्थायी समिति बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सात मन्त्रीका लागि एक दर्जन र ११ राज्य समितिका लागि करिब दुई दर्जन नाममा छलफल भइरहेको जानकारी स्रोतले दियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबीच आ-आफ्ना पक्षका व्यक्ति मन्त्री बनाउने विषयमा विवाद भएको एक नेताले बताए ।

‘मन्त्री र राज्यमन्त्री चयन गर्ने विषयमा छलफल भयो,’ बैठकपछि प्रवक्ता दीनानाथ शर्माले भने, ‘मन्त्री चयन गर्ने विषयमा पार्टीभित्र विवाद छैन ।’ मन्त्री चयन गर्न तीन पटक बसेका स्थायी समिति बैठक बिनानिष्कर्ष टुंगिएका थिए । विवाद मिलाउन शुक्रबार पनि स्थायी समिति बैठक बोलाइएको छ ।

माओवादीमा आफूले पाउने भनिएको गृहमन्त्री को हुने भन्ने पनि विवाद भएको छ । वैद्य पक्षले गृहमन्त्री स्थायी समिति सदस्य देव गुरुङ हुनुपर्ने अडान लिएको छ भने दाहाल पक्षले शान्तिमन्त्री वर्षमान पुनको जिम्मेवारी हेरफेर गरी गृहको जिम्मा दिनुपर्ने धारणा राखेको स्रोतले जनायो । गृहमन्त्री गुरुङले पाउने भनी सार्वजनिक भएको अभिव्यक्तिप्रति दाहाल पक्षले बैठकमा आपत्ति समेत जनाएको थियो ।

मन्त्रीका लागि स्थायी समिति सदस्यहरू देव गुरुङ, गिरिराजमणि पोख्रेल, दीनानाथ शर्मा, पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, नारायण शर्मा, लेखराज भट्ट केन्द्रीय सदस्यहरू जयपुरी घर्ती, प्रभु साह, रामकुमार शर्मा, महेन्द्र पासवानलगायतका नाममा छलफल भइरहेको एक नेताले बताए । यसअघि ११ जना मन्त्रीका लागि करिब सय जनाको नाम प्रस्तावित भएको थियो । हाल सात मन्त्री र ११ जना राज्यमन्त्रीका लागि करिब तीन दर्जन व्यक्तिको नाममा छलफल भइरहेको छ ।

 उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय पार्टीले पाउने निश्चित भएको भन्दै त्यसबारेमा छलफल भएको बताए । ‘गृहमन्त्री को हुने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘को हुने भन्ने निर्णय भइसकेको छैन ।’ स्थायी समिति सदस्य एवं भौतिक योजना मन्त्री टोपबहादुर रायमाझीले छलफल सकारात्मक रूपमा अघि बढेको बताए ।

वैद्य र भट्टराई पक्षले गृह नपाए थप मन्त्री पठाउन नहुने अडान राख्दै आएका कारण पार्टीले गृह तोकेरै थप मन्त्री पठाउने तयारी गरेको छ ।

 एमालेसँगको सहमतिमा शान्ति, भौतिक योजना, पर्यटन, सूचना तथा सञ्चार, कानुन तथा न्याय, भूमिसुधार, स्वास्थ्य तथा जनसंख्या, श्रम तथा यातायात, युवा तथा खेलकुद, महिला तथा बालबालिका माओवादीको भागमा परेको थियो । हाल उप तथा सूचना तथा सञ्चारमा कृष्णबहादुर महरा, शान्ति तथा पुनर्निर्माणमा पुन, भौतिक योजना तथा निर्माणमा टोपबहादुर रायमाझी र पर्यटनमन्त्रीमा खड्गबहादुर विश्वकर्मा नियुक्त भइसकेका छन् ।