संवैधानिक समिति अन्तर्गतको उपसमितिको दोस्रो पटक थप गरिएको म्याद कुनै उपलब्धी बिना सकियो

काठमाडौ – संवैधानिक समिति अन्तर्गतको उपसमितिको दोस्रो पटक थप गरिएको म्याद बिना कुनै उपलब्धी सकिएको छ । संविधान निर्माणमा देखिएको विवादमा सहमति खोज्न फागुन १३ गते उपसमितिको गठन भएको थियो ।

पहिलो पटक थपिएको म्याद चैत्र १५ मा सकिएपछि बैशाख १ सम्मलाई समितिको म्याद पुनः थप गरिएको थियो । दोस्रो पटक थप गरिएकेा समयमा एक पटक पनि उपसमितिको बैठक बस्न सकेन । उपसमितिका संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयोजक बस्न अनईच्छा जाहेर गर्दै आएपछि पछिल्लो पटक उपसमिति सक्रिय हुन सकेको छैन ।

सभामुखको पहलमा प्रमख तीन दलका नेताबीच शुक्रबार बसेको बैठकले उपसमितिको आवश्यकता रहेको भन्दै त्यसको म्याद थप गर्ने सहमति गरेका छन् । उपसमितिले २७ दलसंग थप छलफल गरेर अगाडि बढ्ने भएको छ ।  सिंहदरवारमा शुक्रबार बसेको उपसमितिको अनौपचारिक बैठकले आइतबार २७ दलको बैठक बोलएको छ ।

विवादित विषयमा अन्य दलसंग पनि छलफल गर्नुपर्ने भन्दै उपसमितिले अन्य दलको राय बुझ्न २७ दलको बैठक बोलाउने निर्णय गरेको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले बताए । उपसमितिले साशकीय स्वरुप,राष्ट्रिय हित,मौलिक हक अधिकार लगायत समितिको २३ वटा बुँदामा सहमति जुटाउन बाँकी छ । अल्पसंख्यक समूदायको हक अधिकार सम्बन्धको माग बारे सुनवाई नभएको भन्दै केही सभासदको विरोधका कारण संवैधानिक समितिको बैठक शुक्रबार पनि स्थगित भएको छ । दलित जनजाती,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्र सभासदले अल्पसंख्यक समूदायको हक अधिकार सम्बन्धमा आफ्ने धारणा राख्न नदिएको भन्दै बिरोध गरेपछि समितिको बैठक एजेण्डामा प्रवेश गर्न सकेन ।