भूमिगत समूहको धम्कीले त्रसित कञ्चनपुरका गाविस सचिवद्वारा काम ठप्प

कञ्चनपुर – भूमिगत समूहको राजीनामा दिनुपर्ने धम्कीले त्रसित सचिवहरुले स्थानीय निकाय गठन र शान्ति सुरक्षाको माग राखेर दुई दिन गाविस कार्यालय बन्द घोषणा गरेका छन् ।

शान्ति सुरक्षाको माग राख्दै बुधबार भीमनगर बजारमा रयाली प्रदर्शनपछि गाविस हकहित संरक्षण केन्द्रले बिहीबार र शुक्रबार जिल्लाका १९ वटै गाविसमा काम बन्द गर्ने घोषणा गरेको हो ।

तीन साताअघि भूमिगत समूह संयुक्त जातीय मोर्चाले दैजी गाविसमा बम राखेर सबै सचिवलाई राजीनामा दिन धम्की दिएको थियो ।

मोर्चाको पटकपटकको धम्कीले असुरिक्षत भएको भन्दै सचिवहरुले शान्ति सुरक्षा, स्थानीय निकायमा निर्वाचनको माग राखेर चरणबद्ध आन्दोलन घोषणा गरेका थिए । स्थानीय निकायमा निर्वाचन हुन नसक्दा २०५९ देखि गाविस सचिवले जनप्रतिनिधिको समेत जिम्मेवारी लिँदै आएका छन् ।

गाविस हकहित संरक्षण केन्द्र कञ्चनपुरका संयोजक शेरबहादुर बुढाले आफूहरु कर्मचारी भएकाले जनताको सेवा गर्नेबाहेक अन्य केही गर्न नसक्ने बताए  ।

रासस