काठमाडौं – आफू संविधानसभाको म्याद थप गर्ने मानसिकतामा नरहेको प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्। केही समय अझै बाँकी रहेकाले त्यसलाई सकेसम्म सदुपयोग गरेर अघि बढौं भन्दै उनले थपे- म्यादभित्रै संविधान बनाउन प्रतिबद्ध छौं।
सर्वोच्च अदालत, बार एसोसिएसनद्वारा नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित ‘संविधान निर्माणको गतिरोध अन्त्य र संवैधानिक निकास’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन।
उनले भने- काम भइरहेको छ, काम गर्दै जाँदा ९८ प्रतिशत सिद्धियो र २ प्रतिशत बाँकी रह्यो भने त्यस्तो अवस्थामा मात्र म्याद थप्ने हो। त्यतिबेलाचाहिँ म्याद थप्नुको विकल्प छैन।
माओवादी दाहालद्बारा जेठ १४ गतेभित्र पूर्ण संविधान बन्ने कुनै सम्भावना नरहेको धारणा व्यक्त
माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ गतेभित्र पूर्ण संविधान बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। उनले दलहरु मिले भने यो अवधिमा मस्यौदा चाहिँ बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे। सर्वोच्च अदालत, बार एसोसिएसनद्वारा नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित संविधान निर्माणको गतिरोध अन्त्य र संवैधानिक निकास विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन।
उनले सोझै संविधानसभाको म्याद थप्नैपर्छचाहिँ भनेनन्। तर भने- ‘संविधानसभाको म्याद थप्दा खर्च बढी हुन्छ भन्ने विरोध आइरहेको छ। त्यसबेला उनीहरुका तलव, सुविधा कटौती गर्ने वा केही गर्नेबारे सोच्नुपर्छ।’ आफूले यसअघि ७ दिनभित्र संविधान बन्न सम्भव छ भनेको स्मरण गर्दै उनले प्रष्ट पारे- मैले त्यसलाई प्रतीकात्मकरुपमा भनेको थिएँ, अन्यथारुपमा बुझ्नुभएन।