संविधान लेखन र सेना समायोजन टुंग्याउन केन्द्रित रहेको माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावप्रति अन्य दलका नेताहरु उत्साहित

– माओवादीभित्र अध्यक्ष प्रचण्डले अघि सारेको प्रस्ताव पारित भए जेठ १४ भित्र नयाँ संविधान र सेना समायोजनका मुद्दाहरु सुल्झने आशा पलाउने अन्य मुख्य दलका नेताहरुले बताएका छन्


संविधान लेखन र सेना समायोजन टुंग्याउन केन्द्रित रहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावप्रति माओवादीको केन्द्रिय समितिको बैठकमा धेरैले समर्थन जनाएपछि अन्य दलका नेताहरु केही उत्साहित बनेका छन्।

शुक्रबारदेखि जारी उक्त बैठकमा प्रचण्डको प्रस्ताव र त्यसको विरुद्ध ल्याइएको उपाध्यक्ष किरणको फरक प्रस्तावमाथि पक्ष र विपक्षमा उत्रिएर बहस भएको थियो।


प्रचण्डको प्रस्तावले सेना समायोजनमा लचिलो हुन, शुरुमै समायोजन हुन चाहने र नचाहने लडाकूहरुलाई छुट्ट्याउने वा रिग्रुपिङमा लान मिल्ने कुरा राखेको भन्दै उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरले त्यसको सशक्त विरोध गरेको थियो।


तर अन्य राजनीतिक दलहरुले भने प्रचण्डको प्रस्ताव समाधानमुखी भएको बताएका छन्।