खाडीका देशभन्दा बढी तलब सुविधा पाइने भएकाले आकर्षक बनेको देश दक्षिण कोरियामा कतिपय नेपाली कामदारले दुखका कारण कम्पनी छाडेर भाग्ने गरेको अधिकारीहरुले बताएका छन्।
उक्त कुरा त्यहाँ कार्यरत कामदार र नेपाली अधिकारीले बताएका हुन्।
देशभित्र चरम बेरोजगारीका कारण विदेश पलायन हुन बाध्य नेपालीहरुले राम्रो तलब सुविधा पाइने भएकाले खाडीका देशभन्दा दक्षिण कोरियालाई निकै प्राथमिकता दिने गरेका छन्।
गत हप्ता तेस्रो चरणको इपीएस सेवा खुल्दा रोजगारीको निम्ति त्यहाँ जान झण्डै ६० हजार नेपालीले फारम भरेका थिए।
तर आफुले गर्ने कामको प्रकृति र करारबारे ध्यान दिनुपर्ने त्यहाँ पुगेका कामदारहरु बताउँछन्।
एक कामदार सुरेन्द्र बराल भन्छन्, “समुन्दमा कसरी माछा मार्ने, १४ डिग्री भन्दा जाडोमा काम गर्नु पर्ने लगायतका विषयमा धेरै नेपालीलाई जानकारी हुँदैन।”
विशेष गरि विदा नपाउने समुन्द्रमा हप्तौसम्म विताउनु पर्ने, नेपाली संस्कार विपरित काम गर्नुपर्ने अन्य समस्या हुने गरेको बरालको भनाई थियो।
कतिपय कम्पनिले १२ घन्टा काम गराएर आठ घन्टाको मात्र तलव दिने गरेको गुनासो पनि सुनिन्छ। प्रितम गुरुङ इपीएसको नियम अनुसार तलव नपाएको गुनासो गर्ने मध्येका एक कामदार हुन्।
कोरियास्थिति नेपाली राजदूत कमलप्रसाद कोइराला भन्छन्, “नेपालीले निकै गाह्रो काम पाउँछन् अनि करारको काम छोडेर गैरकानुनी रुपमा बस्ने गरेका छन्।”
कोरियामा नेपालीले गर्ने काम गाह्यो, फोहोरी र जोखिमयुक्त हुने गरेको उनको भनाई छ।
उनको सुझाव छ, “त्यसैले कामदार आफै सचेत हुनु पर्छ। कोरियाको कानुन निकै कडा हुने भएकाले करारका प्रावधानहरु अध्ययन गर्न जरुरी छ।”
सरकारले विस्तृत जानकारी र प्रशिक्षण दिनुपर्ने कामदारहरुको माग छ।
तर वैदेशिक रोजगार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले छनौट भएकालाई एक हप्ता लामो तालीम दिनुका साथै त्यस अघि पत्रपत्रिका मार्फत पनि प्रसस्त जानकारी दिने गरेको बताउँदै कामदारहरुको गुनासो अस्वीकार गरे।
कोरिया जान पछिल्लो पटक करिव ६० हजारले फारम भरेका छन्।
उनीहरु मध्ये सात हजार जतिलाई छनौट गरिने बताइएको छ।



