पूर्वउपप्रधान तथा गृहमन्त्रीहरू रामचन्द्र पौडेल र वामदेव गौतमद्बारा सुविधाको गाडी फिर्ता

काठमाडौं –  पूर्वउपप्रधान तथा गृहमन्त्रीहरू रामचन्द्र पौडेल र वामदेव गौतमले संसद्को सार्वजनिक लेखा समितिको निर्देशनअनुसार गृह मन्त्रालयले पत्र काटेपछि सुविधाको गाडी फिर्ता गरेका छन् ।

समितिको निर्देशनपछि गृहले केही दिनअघि मात्र लिखित पत्राचार गरी गाडी फिर्ता गर्न भनेको थियो ।

विपक्षी दलको नेताको हैसियतले पौडेलले व्यवस्थापिका-संसद्बाटै गाडी सुविधा पाउने भए पनि पूर्वगृहमन्त्रीकै हैसियतमा उनले सुविधा लिँदै आएका थिए ।

गौतमले महँगो गाडी फिर्ता गरी मन्त्रालयले उपलब्ध गराएको भारतीय गाडी लगेका छन् । गौतमले बा५च ७८१ नम्बरको जापानिज इसुजु फिर्ता दिई गृहले उपलब्ध गराएको बा१झ ८३२७ नम्बरका गाडी लिएका हुन् ।

गृह मन्त्रालयमा मन्त्री कृष्णबहादुर महरालाई सोमबार भेट्न पुगेका पूर्वगृहमन्त्री भीमबहादुर रावलले भने गाडी फिर्ता गरेका छैनन् । उनी बा७च ५५५५ नम्बरको नयाँ गाडी प्रयोग गर्छन् । रावलले आफू गृहमन्त्री हुँदा महँगो जापानिज गाडी खरिद गरी पदबाट बाहिरिँदा जबर्जस्ती त्यही गाडी जबर्जस्ती लगेका थिए ।

संसद्को सार्वजनिक लेखा समितिले गत चैत १८ मा मन्त्री पदमा रहँदा चढ्दै आएको गाडी पदमुक्त भएपछि पनि जबर्जस्ती चढ्ने हालको व्यवस्था तत्काल खारेज गर्न निर्देशन दिएको थियो । समितिले सात दिनभित्र नयाँ गाडी फिर्ता लिन निर्देशन दिए पनि रावलले त्यसको उल्लंघन गरिरहेका छन् ।

स्रोतका अनुसार पूर्वगृहमन्त्रीहरू केपी ओली, पूर्णबहादुर खड्का र खुमबहादुर खड्काले पनि समितिको निर्देशन र गृहको पत्रलाई लत्याइरहेका छन् । पूर्वगृहमन्त्री कृष्ण सिटौलाले पनि पदमुक्त भएपछि गाडी लिएको भए पनि उनलाई पत्राचार गरिएको छैन । त्यस्तै एमालेका महासचिव ईश्वर पोख्रेल र कांग्रेसका पूर्वसांसद अम्रेशकुमार सिंहले समेत गैरकानुनी गाडी चढिरहेका छन् । उनीहरूलाई सरकारी सुविधाको गाडी उपलब्ध गराउनुको औचित्य सरकारी तबरमा खुलाइएको छैन ।