ऐतिहासिक र धार्मिक स्थल पाणिनी तपोभूमिको पर्यटन प्रवर्द्धन र विकासका लागि पाणिनि तपोभूमिमा २ दिने वृहत सम्मेलनको आयोजना गर्ने


-भिम विश्वकर्मा, पाणिनी , अर्घाखाँची।
अर्घाखाँची । पाणिनी तपोभूमिको विकासमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले चासो देखाएका छन ।


पाणिनी गाउँपालिकाको ऐतिहासिक र धार्मिक स्थल पाणिनी तपोभूमिको पर्यटन प्रवर्द्धन र विकासका लागि मुख्यमन्त्री आचार्यको निर्देशनमा लुम्बिनी प्रदेश पर्यटन परिषदले अवलोन अनुगमन गरेको छ।


अनुगमन टोलीले पाणिनी तपोभूमिमा रहेका पुरातात्विक, धार्मिक, र पर्यटकीय सम्भावनाहरूको अवलोकन गर्दै त्यस क्षेत्रको संरचना सुधार, प्रचारप्रसार, राष्ट्रिय, अन्तराष्ट्रिय जगतमा पाणिनिको महत्वबारे जानकारी गराउनका लागि पाणिनि तपोभूमिमा २ दिने वृहत सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । परिषदका कार्यकारी निर्देशक रामु जेसीले पाणिनी तपोभूमि जस्तो ऐतिहासिक महत्त्वको स्थललाई पर्यटन गन्तव्यको रूपमा विकसित गर्न बोर्डले विशेष प्राथमिकता दिएको बताए ।


पाणिनि सम्मेलनमा पाणिनिको बारेमा विशेष जानकारी भएका बिद्वत्त व्यक्तित्वहरूलाई तपोभूमि ल्याएर तपोभूमिको बारेमा थप जानकारी लिने र तपोभूमिको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने योजना रहेको छ । सम्मलेन आगामी चैत्र अन्तिम र बैशाखको पहिलो हप्ता हुने उद्योग पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशका बरिष्ठ शाखा अधिकृत गणेश घिमिरेले जानकारी दिए । सम्मेलनको मिति भने आगामी बैठकले तय गर्ने छ ।


पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पाणिनी तपोभूमिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिकाले थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए। उनले यसको विकासका लागि डिपिआर बनाएर अगाडि बढिएको बताए । उनले लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको सहयोगले यस क्षेत्रमा पर्यटन विकासका सम्भावनाहरू थप सुदृढ हुने विश्वास व्यक्त गरे।
बैठकपछि पाणिनि गाउँपालिकाका अध्यक्षले तपोभूमिमा पर्यटन प्रवर्द्धनका आफ्नो योजना, मुख्यमन्त्री, पर्यटन मन्त्रालय तथा पर्यटन परिषदको सहयोगमा आवश्यक रणनीतिहरू तयार पार्ने र सम्मेलनको आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए ।

उनका अनुसार यस सम्मेलनले धार्मिक पर्यटनको प्रवर्द्धन मात्र नभई स्थानीय समुदायको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्नेछ।पाणिनी तपोभूमिलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकसित गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।



