

-बसन्त बहादुर खड्का , सन्धिखर्क अर्घाखाँची डट्कम।
सन्धिखर्क, अर्घाखाँची – राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले सन्धिखर्क-१ स्थित बसपार्कमा भव्य कोणसभा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख वक्ताहरुले संघीयता खारेजी, स्थानीय तह सशक्तीकरण, र राष्ट्रघाती सम्झौताहरूको विरुद्ध सशक्त आन्दोलन आवश्यक रहेको धारणा व्यक्त गरे।


कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसीले नेपालमा लागू गरिएको संघीयता अत्यन्त खर्चिलो भएको र यसले देशलाई आर्थिक भार मात्र थोपरेको बताए। उनले संघीयता खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर सशक्त बनाउनुपर्ने धारणा राखे।


त्यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य कमलप्रसाद घिमिरेले नेपाली जनता संघीयताको भारी बोकेर थकित भइसकेको उल्लेख गर्दै यसलाई छिटोभन्दा छिटो खारेज गरी स्थानीय तहलाई सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, उनले एमसिसी राष्ट्रघाती भएको दाबी गर्दै राष्ट्रिय जनमोर्चाले यसको विरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा राष्ट्रिय जनमोर्चाका विभिन्न जिल्ला, नगर, तथा वडास्तरीय नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मिना बिसीको अध्यक्षता रहेको थियो। स्वागत मन्तव्य राधा आचार्यले व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन वसन्त खड्काले गरेका थिए।

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको पक्षमा जनचेतना अभिवृद्धि गर्दै संगठन विस्तार गर्ने उद्देश्यले आगामी चैत्र २४ देखि ३० गतेसम्म काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। साथै, उक्त आन्दोलनलाई सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक सहयोगका लागि भिबिन्न पार्टीमा आवद्ध सम्पूर्ण जनताहरुलाई आग्रह गरेको छ।



