माओवादीमा वैद्य पक्षद्वारा दोहोरो सुरक्षा हटाउने निर्णयको विरोध

काठमाडौं   – एकीकृत माओवादीले आफ्ना नेताहरूको सुरक्षामा रहेका लडाकुहरू हटाउने निर्णय गरेको छ । शान्ति प्रक्रियामा आइसकेपछि पनि पोलिटब्युरो तहसम्मका नेताले सुरक्षाका लागि हतियारसहित लडाकु राखेका थिए ।

शान्ति प्रक्रियालाई तीव्रता दिने उद्देश्यले नेताको दोहोरो सुरक्षा हटाउनेसम्बन्धी निर्णय बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरू मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलगायत केही नेताले प्रहरी र लडाकुको दोहोरो सुरक्षा सुविधा लिँदै आएका छन् ।

बैठकपछि उपाध्यक्ष बाबुराम भट्टराईले दलहरूबीच विश्वासको वातावरण बनाउन दोहोरो सुरक्षा हटाउने निर्णय गरेको जनाए । ‘विश्वासको वातावरण बनाउन दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘आजैबाट अन्त्य गर्ने घोषणा गरेका छौं तर व्यवहारमा कार्यान्वयन गर्न केही समय लाग्न सक्छ ।’ दोहोरो सुरक्षाबाट हटाइएका लडाकुलाई सम्बन्धित अस्थायी शिविरमा फिर्ता पठाइनेछ । उपाध्यक्ष मोहन वैद्य र सचिव सीपी गजुरेलले सेना समायोजन प्रक्रिया प्याकेजमा अघि नबढ्दै दोहोरो सुरक्षा प्रणाली हटाउन नहुने धारणा बैठकमा राखेका थिए । ‘बहुमतले नेताको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय गरेको हो,’ सचिव गजुरेलले भने, ‘किरण (वैद्य) र मैले समायोजन प्रक्रिया प्याकेजमा सहमति भएपछि मात्र निर्णय गरौं भन्यौं ।’ उनले सेना समायोजन प्रक्रिया अघि नबढ्दै गरेको निर्णयले समस्या उत्पन्न गर्ने बताए ।

माओवादी नेताका लागि १ सय २७ लडाकु हाल शिविरबाहिर छन् । अब माओवादी नेताले आवश्यकताअनुसार सरकारी सुरक्षाकर्मी लिनेछन् ।

बैठकले माओवादीले अस्थायी नम्बर राखी प्रयोग गर्दै आएका करिब एक सय गाडीलाई वैधानिकता दिने निर्णय पनि गरेको छ । नेताले प्रयोग गर्दै आएका गाडीमा निजी नम्बर र लडाकु शिविरमा रहेका गाडीलाई सरकारी नम्बर राख्न बैठकले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको छ ।