संविधानसभाको म्याद थप्न गरिएको पाँच बुँदे सहमतिमा उल्लेखित तीन
महिनाभित्र शान्ति प्रक्रियाको मूलभूत कार्य सम्पन्न गर्ने भन्ने कुराको मूल आशय
माओवादीका लडाकूहरुको शिविर र हतियारका कन्टेनर खाली गराउननै रहेको नेपाली
कांग्रेसले बताएको छ।
साथै, कुनै अलमल नगरीकन प्रधानमन्त्री झलनाथ खनालले तुरुन्त राजीनामा गर्नुपर्ने
उसले माग गरेको छ।
संविधानसभाको म्याद थपेपछि शुक्रबार पहिलोपटक बसेको संसदको बैठकमा बोल्दै नेपाली
कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दुईवटा प्रमुख
सत्ताधारी दलहरुसंग छुट्टाछुट्टै माग राखे।
पाँच बुँदे सहमतिको पहिलो बुँदामा उल्लेखित शान्ति प्रक्रियाका मूलभूत कुराहरु
तीन महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भन्ने वाक्यबारे भिन्न भिन्न धारणा आएका बेला
नेता पौडेलले त्यसको आसय माओवादीका लडाकूहरुको समायोजननै रहेको बताए।



