



-अर्घाखाँची डट्कम सम्बाददाता।
अर्घाखाँची – अखिल नेपाल महिला संघ अर्घाखाँचीले ११५औं अन्तर्राष्ट्रिय नारी दिवस सन्धिखर्क स्थित राष्ट्रिय जनमोर्चा कार्यालयमा भव्य रूपमा मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव सकुन्तला रानाले महिलाहरूको हकअधिकार श्रमिक महिलाहरूको संघर्षबाट प्राप्त भए तापनि ती अधिकारहरू अझै अपूरा रहेको बताइन्। उनले घरेलु हिंसा, अन्धविश्वास, र रूढीवादी संस्कृतिबाट माथि उठी अधिकारको सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सचिव कल्पना पोखरेलले महिलाहरू अझै पनि समाजमा दबिएर र हेपिएर बस्न बाध्य भएको उल्लेख गरिन्। उनले महिलाहरूले संगठित भएर समानता र न्यायको लागि संघर्ष जारी राख्नुपर्ने बताइन्।

राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर विसिले सबै प्रकारका शोषणको अन्त्य गरी सभ्य समाज निर्माण गर्न महिलाहरू एकजुट हुनुपर्ने धारणा राखे।

कार्यक्रममा अतिथिहरूको उपस्थिति:
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं भूमिकास्थान नगर प्रमुख झबिलाल थापा, केन्द्रीय सदस्य यमलाल पोखरेल, लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल किसान महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि , अखिल नेपाल युवक संघकी


जिल्ला सचिवालय सदस्य रीता बन्जाडे, अखिल नेपाल किसान महासंघ (अफ्फा) का प्रदेश सदस्य एवं जिल्ला अध्यक्ष भीमलाल आचार्य, जातीय समता समाजका जिल्ला अध्यक्ष कृष्ण सुनार, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य सुन्दरा थापा, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष कमल घिमिरे, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष दीपक सुनार, र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराईको उपस्थिति रहेको थियो।


कार्यक्रमको अध्यक्षता राधा आचार्यले गरेकी थिइन् भने स्वागत मन्तव्य उषा बस्नेतले राखेकी थिइन्। कार्यक्रम सञ्चालन मिना विसिले गरेकी थिइन्।


कार्यक्रमले महिलाहरूका हकअधिकार, समानता, र शोषणको अन्त्यका विषयमा जागरूकता फैलाउँदै, संगठित संघर्ष आवश्यक रहेको बक्ताहरुको भनाई रहेको थियो।
थप तस्बिर:








