राष्ट्रपतिद्वारा शान्ति र संविधान निर्माण पूरा गरी मुलुकलाई समृद्धितर्फ अघि बढाउन आहृवान (आर्थिक वर्ष २०६८/६९ को नेपाल सरकारको नीति तथा कार्यक्रम)

काठमाडौ । – राष्ट्रपति रामवरण यादवले शान्ति र संविधान निर्माण पूरा
गरी मुलुकलाई समृद्धितर्फ अघि बढाउन आहृवान गरेका छन् ।

संसदमा आइतबार सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि
संक्षिप्तरुपमा राष्ट्रपतिले भने, ‘अब मुलुकलाई समृद्धितर्फ लैजान म संविधानसभालाई
आहृवान गर्छु ।’

राष्ट्रपतिको  आर्थिक वर्ष २०६८/६९
को नेपाल सरकारको नीति तथा कार्यक्रम

सभामुख महोदय,

१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका हैसियतले नेपाल सरकारको
आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम व्यवस्थापिका-संसदको यो गरिमामय बैठकमा
प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेकोछ। यस अवसरमा म सर्वप्रथम आफ्नो संविधान आफैं
लेख्ने नेपाली जनताको छ दशकदेखिको चाहना र अभिलाषालाई पूरा गर्न आफ्नो ज्यानको
आहुति दिने सम्पूर्ण ज्ञात, अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण
गर्दछु।

२. हाम्रो देश ठूला ठूला जन आन्दोलन, जनयुद्ध र जनक्रान्तिको प्रक्रियाबाट
गुज्रिदैं आएकोछ। त्यही सिलसिलामा २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत्
राजतन्त्र र एकात्मक राज्य प्रणालीको अन्त्य गरी मुलुक संघीय लोकतान्त्रिक
गणतन्त्रमा प्रवेश गरेतापनि नेपाली जनताको शान्ति र संविधान प्रतिको उत्कट चाहना
पूरा गरी मुलुकलाई आर्थिक, सामाजिक र वैज्ञानिकरुपले सम्पन्न बनाई सम्पूर्ण नेपाली
जनतालाई सुखी, समृद्ध र आत्मनिर्भर बनाउने हाम्रो अभियान अधुरै छ। संविधानसभाको
निर्वाचन पश्चात् बितेका तीन वर्षमा संविधान लेखनको कार्यमा महत्वपूर्ण प्रगति भए
पनि यसले पूर्णता पाउन बाँकी नै छ। शान्ति प्रक्रियाका आधारभूत विषयहरु तथा
संविधानको खाका तयार गर्न संविधानसभाको म्याद तीन महिना थपिएको यस अवधिमा सबै
राजनीतिक दलहरुले आफ्नो सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गरी अहोरात्र
खट्नु परेकोछ। यसका लागि सबै राजनीतिक दलहरुबीच सहमति, समझदारी र सहकार्य अति
आवश्यकछ। मलाई विश्वास छ, नेपालको इतिहासको यो कठिन घडीमा आफ्नो परिपक्वता प्रदर्शन
गरी आ-आफ्ना तर्फबाट देश र जनताको हितका पक्षमा अधिकतम लचकताका साथ प्रस्तुत भई
भावी संविधानका बारेमा छिट्टै एउटा सहमतिमा पुगिनेछ।

३. दीगो शान्ति, समृद्धि तथा आर्थिक-सामाजिक रुपान्तरण सबै राजनीतिक दलहरुको
सहमति र सहकार्यबाट मात्र सम्भव हुन्छ भन्ने यथार्थलाई मनन गर्दै राष्ट्रिय सहमतिका
आधारमा संवैधानिक सर्वोच्चता कायम गर्न, विधिको शासन र सुशासन प्रत्याभूत गर्न,
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्न, विगतका सहमति र सम्झौताहरुको कार्यान्वयन
गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा शान्ति प्रक्रियालाई छिट्टै तार्किक
निष्कर्षमा पुर्या,ई संविधान निर्माणको कार्यलाई पूर्णता दिन वर्तमान सरकार कटिबद्ध
छ।

४. नेपाली जनताको अदम्य साहस, स्वतन्त्रता प्रतिको अटल निष्ठा र दृढताले
मुलुक सधैं स्वतन्त्र रहिआएकोछ। सार्वभौम नेपाली जनताले आफूलाई सधैं अग्रगमन तथा
विकासका पक्षमा उभ्याएका छन्। विकासको प्रतिफल मुलुकको कुनाकुनासम्म पुर्याकउने
उद्देश्यले विकेन्द्रीकरण तथा सन्तुलित विकासको अभ्यास गर्न मुलुक संघीय गणतन्त्रको
रुपमा रुपान्तरण भइसकेको वर्तमान अवस्थामा यसको जगेर्ना र सुदृढीकरण गर्न हाम्रो
साझा र अथक प्रयासको आवश्यकता छ।

सभामुख महोदय,

५. राष्ट्रिय स्वाधिनता, एकता, अखण्डता तथा सार्वभौमसत्ताको रक्षा गर्दै
वर्गीय, क्षेत्रीय, जातीय र लैङ्गिक रुपमा सबै प्रकारका भेदभाव अन्त्य गरी राज्यको
पुन:संरचना गर्ने उद्देश्य अनुसार सामन्तवादका सबै रुप र अवशेषहरुलाई निर्मूल
पार्दै समाजवाद उन्मुख जनमुखी र लोककल्याणकारी अर्थतन्त्रको सञ्चालनबाट आत्मनिर्भर,
आधुनिक, न्यायपूर्ण, समावेशी र समृद्ध नयाँ नेपालको जग बसाली आम जनतालाई समाजमा
विद्यमान सबै प्रकारका असमानता, विभेद, शोषण, उत्पीडन र अन्यायबाट मुक्त गर्ने सोच
नेपाल सरकारले राखेकोछ।

६. वर्तमान सरकार मुलुकको संक्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्दै शान्ति
प्रक्रियालाई सम्पन्न गर्ने, आम नेपालीको अपेक्षा अनुरुप नयाँ संविधान लेख्ने,
आर्थिक-सामाजिक रुपान्तरण गर्ने र मुलुकको स्वाधीनतालाई सुदृढ गर्ने पक्षमा दृढताका
साथ उभिएको छ। मुलुकमा सामाजिक न्याय स्थापना गर्ने तथा मुलुकलाई आर्थिक वृद्धितर्फ
उन्मुख गराउने प्राथमिकताका साथ सरकार आफ्नो कार्यसूचीमा अगाडि बढेको कुरा यस
सम्मानित सदनमा व्यक्त गर्न चाहन्छु।

७. वर्तमान सरकारले