माओवादी उपाध्यक्ष किरण पक्षधर अनिश्चित बनेको पार्टीको वैठक डाक्न अध्यक्ष प्रचण्डलाई दवाव दिने उपायको खोजिमा

एकीकृत नेकपा माओवादीको अनिश्चित बनेको बैठक डाक्न उपाध्यक्ष मोहन वैद्य किरण पक्ष अध्यक्ष प्रचण्डलाई दबाब दिने तयारीमा जुटेको छ।

किरणपक्षीय पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले दबाब दिन के गर्ने भन्नेबारे अन्य पक्षसँग सरसल्लाह भइरहेको जानकारी दिए।


मन्त्रिमण्डल समावेशी बनाउने सहित अन्य कार्य विभाजनको प्रस्ताव बनाउने जिम्मा स्थाई समितिलाई दिँदै स्थगित भएको केन्द्रिय समिति बैठक दश दिन वित्दा समेत अनिश्चित नै छ।


सबैलाई मान्य हुने शक्ति बाँडफाँडको प्रस्ताव बनाउन केन्द्रिय समिति बैठक कम्तिमा तीन दिन स्थगित गर्न माओवादीमा स्पष्ट देखिएका तीनवटै खेमाको सहमति थियो।


सहमतिको खोजिमा प्रचण्डले किरणसँग पछिल्लो पटक सोमवार गरेको छलफल पनि विफल भएको छ।


किरण निकट सचिव सीपी गजुरेलले छलफल ठोस निष्कर्षमा नपुगेकाले बैठक अझैं अनिश्चित बनेको जानकारी दिए।        


किरण पक्षकै अर्का वरिष्ठ नेता हरिभक्त कँडेलले प्रचण्डले निर्णय लिन नचाँहदा वा नसक्दा समय घर्किएर पार्टी अन्यौलमा फँसेको आरोप लगाए।


उनले भने, “अध्यक्षको अनिर्णयका कारण पार्टीले निर्णय लिन नसक्ने लाजमर्दो स्थिति बनेको छ। त्यसैले उहाँलाई घच्घच्याउनु पर्‍यो नि।”


कसरी घच्घच्याउने भन्नेबारे भने अर्का उपाध्यक्ष बाबुराम भट्टराई, महासचिव रामबहादुर थापा बादल लगायत अन्य नेताहरुसँग छलफल चलिरहेको उनले बताए।


टुंगोमै पुगि नसकेको जनाउँदै नेता कँडेलले भने, “हस्ताक्षर गरेर बैठक बोलाउन अध्यक्षलाई दबाब दिने कि के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनौं।”


विचारमा मतभेद भए पनि उपाध्यक्ष द्वय किरण र भट्टराई पक्ष चुनाव हारेकालाई फिर्ता बोलाएर मन्त्रिमण्डल समावेशी बनाउन अध्यक्ष प्रचण्डलाई दबाब दिन एकै ठाउँमा उभिएका छन्।


उनीहरुले संसदीय दलको अत्यधिक बहुमत १५९ जना सभासदको हस्ताक्षर प्रचण्डलाई बुझाएर ‘त्यसै परे जस्तो सुकै चुनौती दिने चेतावनीयुक्त संकेत’ पनि दिएका छन्।


त्यसलाई प्रचण्ड पक्षले नेतृत्वलाई चुनौती दिने उदेश्यले भएको अनैतिक समीकरणको रुपमा हेर्ने गरेको पाइन्छ।