तराइ केन्द्रित दलहरुद्वारा आफ्ना मागहरु संबोधन नभए बजेट प्रस्तुत हुन नदिने चेतावनी

काठमाडौं  – संयुक्त लोकतान्त्रिक मधसशी मोर्चाले आइतबार अर्थमन्त्री
भरतमोहन अधिकारीसँग भेटेर बजेटमा मधेस मुद्दा सम्बोधन नभए यसको विरोधमा प्रस्तुत
हुने चेतावनी दिँदै ज्ञापन पत्र दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका
अध्यक्ष महेन्द्रप्रसाद यादवका अनुसार मोर्चाले अर्थमन्त्रीलाई मोर्चाको माग बजेटमा
समावेश नगरिए बाध्य भएर अवरोध गर्नुपर्ने जनाएको थियो ।

उसले बजेटमा पूर्व-पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, मधेस आन्दोलनका सहिदको
सम्मान, मधेसमा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वविद्यालयलगायतका लागि विशेष
कार्यक्रमसँगै मधेस केन्दि्रत कार्यक्रमहरूको माग गरेको छ ।

मोर्चाले अर्थमन्त्रीसँग मधेस आन्दोलनको सहिदहरूका लागि सम्मान कार्यक्रम
ल्याउनुपर्ने माग गरेको छ । यसअन्तर्गत हरेक सहिदको जन्मस्थान छेउछाउमा सहिदको
नाउमा एउटा विद्यालय निर्माण सरकारले गर्नुपर्ने माग मोर्चाको छ । यसअन्तर्गत
विद्यालय निर्माणका लागि ५० लाख अनुदान यसै बजेटबाट दिनुपर्ने समेत मोर्चाले जनाएको
यादवले बताए ।

यस्तै अन्य प्रतिष्ठानसरह मधेस आन्दोलन राष्ट्रिय स्मृति प्रतिष्ठान गठन
हुनुपर्ने र मधेस आन्दोलनमा अंग भंग गुमाएकाहरूका लागि राहतस्वरूप बजेटबाट २० करोड
रुपैयाँ छुट्याउनुपर्ने मागसमेत गरेको छ । हुलाकी सडकलाई तीन वर्षमा पूरा
गर्नुपर्ने माग, पूर्व-पश्चिम रेलमार्गको निर्माणसमेत यसैवर्षदेखि सुरु हुनुपर्ने
मांग गर्दै मोर्चाले यो रेलमार्ग भने हुलाकी सडक छेउसँगै जानुपर्ने समेत उल्लेख
गरेको छ ।

मधेसको पर्यटकीय क्षेत्र विस्तारअन्तर्गत लुम्बिनी, जनकपुर विराटनगरमा क्षेत्रीय
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्ने र निजगढमा भने अन्तर्राष्ट्रिय
विमानस्थल निर्माणको मागसमेत मोर्चाले अगाडि सारेको छ । कृषि सिँचाइ, बीउ बिजनमा
अनुदान र कृषिजन्य सामग्री र यन्त्रमा भन्सार छुट हुनुपर्ने मागसमेत मोर्चाको छ ।
मोर्चाले जनकपुर, वीरगन्ज र नेपालगन्जमा प्रस्तावित विश्वविद्यालय यसै वर्षदेखि
सञ्चालन गरी रकम छुट्याउन मागसमेत यादवले बताए ।