-गोपालप्रसाद प्रसाद भट्टराई
बैशाख-१२ ,अर्घाखाँची ।
अर्घाखाँची नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अर्घाखाँचीले प्रत्यक्ष निर्वाचित राष्ट्रपती र मुख्यमन्त्रीय प्रणालीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नयाँ संविधान जारी भएयता पटकपटक जनता असन्तुष्ट देखिएको भन्दै यो पार्टीले असन्तुष्टिको समाधान प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीय प्रणालीमा रहेको ठहर गर्दै सोही अनुसारको व्यवस्था लागु गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
जिल्ला अध्यक्ष महेन्द्र सुनारले हस्ताक्षर गरि जारी भएको ज्ञापनपत्र केन्द्रीय सचिवालय सदस्य भक्ति प्रसाद आचार्य र संघिय परिषद सदस्य पुस्करनाथ आचार्यले शुक्रबार प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल मार्फत प्रधानमन्त्रीलाई बुझाउनुभएको बताइएको छ ।
संविधानले राजनीतिक अधिकार स्थापित गरे पनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसकेकोले संविधान संशोधन मार्फत व्यवस्थाको स्वरुप फेर्नू परेको नेता भक्ति आचार्यको भनाइ छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले पूर्ण समानुपातिक संसद हुनुपर्ने, बिषयविज्ञ मन्त्री र मन्त्रीमण्डल बनाउनुपर्ने, युवालाई स्वदेशमा रोजगार दिनुपर्ने, देशलाई उत्पादनमा जोडेर आयात रोक्नुपर्ने, रोजगार स्थलबाटै मतदानको व्यवस्था गरिनुपर्ने, शिक्षा ऐन जारी गरि शिक्षकलाई तत्काल कार्यस्थल फर्काउनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।