काठमाडौं – एकीकृत नेकपा माओवादीले वरिष्ठ नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रतिबद्धतासहितको लिखित पत्र दिए संसदीय दलका नेता परिवर्तन गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले बताएका छन्
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा डा. खड्काले भने- दलको नेता फेर्ने अवस्था आए नेता फेरिन्छ। जसको नेतृत्वमा राष्ट्रिय सहमति जुट्छ त्यही संसदीय दलका नेता हुन्छ।
वर्तमान सरकार शान्ति र संविधानको दिशामा पूर्णत असफल भएको आरोप लगाउँदै नेता खडकाले असफल भइसकेको सरकारलाई विस्थापित गर्न कांग्रेस संसद अवरुद्ध गर्ने रणनीतिमा लागेको खुलास गरे। उनले भने- यस विषयमा हामिले मधेसी मोर्चा र साना प्रतिपक्षी दलसँग छलफल गरिरहेका छौं। अब बस्ने संसदको बैठकमा कांग्रेसले प्रधानमन्त्रीलाई राजीनामा गराउन संसद अवरुद्ध गर्छ।
यद्यपि उनले माओवादीले शान्तिप्रक्रिया अगाडि बढाउने हिम्मत देखाए प्रचण्ड वा बाबुराम जसको नेतृत्वमा पनि कांग्रेस सरकारमा सहभागी हुन तयार रहेको दावी गरे। एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं स्वास्थ्यमन्त्री शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डले सारेको शान्ति र संविधानमा मोहन वैद्य र बाबुराम भट्टराईले स्वीकार गरिसकेको खुलासा गर्दै पार्टीको आधिकारीक लाइन त्यही भएको दावी गरे।
अध्यक्ष प्रचण्डको विकल्प पार्टी नभएको स्पष्ट पार्दै बस्नेतले पार्टी अध्यक्ष र संसदीय दलको नेता अध्यक्ष नै रहिरहने ठोकुवा गरे। उनले पार्टीभित्रको कार्य विभाजन पनि अध्यक्षकै इच्छा अनुसार हुने दावी गरे। उनले भने- सानातिना केही विभागीय जिम्मेवारी परिवर्तनबाहेक अहिले कुनै ठूलो कार्य विभाजन हुँदैन।



