जेठ–८,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बालबालिकालाई प्राणघातक रोगबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार सबै खोपहरु समयमा नै पूर्ण गराउन प्रतिबद्ध रहेको बताएको छ ।
हरेक वर्ष सबै बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता गर्न र खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन गर्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले पूर्णखोप सुनिश्चित र दिगोपनाको निम्ती प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न पूर्णखोप सुनिश्चितता र दिगोपना र प्रमाणिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खोप लगाउने समय भएका सबै बालबालिकालाई खोप दिन तत्परताका साथ लाग्न कर्मचारी र सहयोग गर्न आम नागरिकलाई अपिल गर्नुभएको छ । बालबालिकाले समयमै खोप पाउनुपर्ने र दीर्घकालीन रोगबाट बचाउनुपर्ने भन्दै नगरप्रमुख श्रेष्ठले यसको निम्ती सबैतहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
कार्यक्रम नगरउपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, सन्धिखर्कका १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यचौकी प्रमुख तथा प्रतिनिधिको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख कृष्ण प्रसाद पोख्रेलले हाल रहेका बालबालिका संगै आगामी दिनमा जन्मने बालबालिकालाई समेत खोप सुनिश्चितता गरेको भन्दै अभियान सफल पार्न सबैको सहयोगको खाँचो औल्याउनुभएको छ । खोपमा शुन्यडोज र ड्रपआउटको अवस्था रोक्नको निम्ती चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ ।
सन्धिखर्क नगरपालिकाकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण प्रसाद पराजुलीले खोप कार्यक्रम सम्बन्धि प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा जनस्वास्थ्य निरिक्षक प्रकाश परियारले सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्यशाखा प्रमुख पराजुलीका अनुसार सन्खिर्कमा अहिले १५ महिना सम्मका बालबालिका ४ सय १७ जना र १६ देखि ५९ महिना सम्मका १ हजार ६ सय ६१ जना बालबालिका नियमित खोपको पहुँचमा रहेका छन् ।
थप तस्बिर :
कार्यक्रममा पूर्णखोप सुनिश्चितता, दिगोपना र प्रमाणिकरणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सन्धिखर्क नगरपालिकाले स्वास्थ्य कार्यालय अर्घाखाँची, १२ वटै वडा कार्यालय र सन्धिखर्कका वडामा रहेका स्वास्थ्यचौकीका प्रमुखहरुलाई सम्मान समेत गरेको छ ।