




-गोपाल प्रसाद भट्टराई।
अर्घाखाँची सामुदायिक स्कुलमा दबाबले भन्दापनि आकर्षणले विद्यार्थिको ध्यान तान्नेगरि शैक्षिक गतिविधि संचालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सर्प, चरा, माछा र हात्तिलाई एउटै विधिबाट रुखमा पठाउन नसकिए जस्तै बालबालिकाको पनि फरक–फरक क्षमतालाई चिनेर सिकाइ क्रियाकलाप संचालन गर्न उनिहरुको सुझाव छ ।


सार्वजनिक शिक्षाको गुणस्तर र नतिजा सुधारको उदेश्यले सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुले सोमबार भगवती मा.वि.सन्धिखर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

मूल्य र महत्व नबुझ्नेले सुनको थालमा भिक माग्छन् भनेजस्तै सार्वजनिक शिक्षाको महत्व र यसमा भएको लगानी बुझ्न नसक्दा सरकारी स्कुल हेलासी भएको सरोकारवालाको बुझाई छ ।

आयोजक सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका उप–सचिव हरिलाल अर्याल, अधिकृत आठौं रामकरण पाल र तिलकराम पौडेलले सुशासनका लागि विद्यालयमा पूर्वाधारको विकास, सामाजिक सचेतना, शैक्षिक गुणस्तर र नतिजा सुधारको बिषयमा प्रस्तुती दिनुभएको शिक्षक शोभाखर पन्थीले जानकारी दिनुभएको छ ।


कार्यक्रममा सन्धिखर्क–२ का वडाध्यक्ष मोतिजंग रायमाझी, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख बिष्णु प्रसाद वेल्वासे र भगवति मा.वि.का प्र.अ. धुर्व के.सी. लगायतले शैक्षिक सुधारका लागि आ–आफ्ना राय दिनुभएको थियो ।

विद्यार्थिको फरक–फरक क्षमतालाई उकास्नको लागि शिक्षामा समानुपातिक नभएर समतामुलक सिकाई विधि अबलम्बन गर्नुपर्नेमा सरोकारवालाको जोड छ । शिक्षकले विद्यार्थिको गन्तव्य मात्र देखाउनुपर्नेमा विद्यार्थि बोकेर हिड्दा पनि नतिजा सुधार हुन नसकेको उनिहरुको तर्क छ ।


सार्वजनिक शिक्षालाई राज्यले नै उपेक्षा गरेको भन्दै कार्यक्रमका सहभागिले राम्रो गर्ने स्कुललाई पुरस्कार र राम्रो गर्न नसक्ने स्कुललाई दण्डको निति अबलम्बन गर्न समेत सुझाव दिएका छन् । कार्यक्रममा सन्धिखर्कका विभिन्न विद्यालयका प्र.अ., वि.व्य.स.का पदाधिकारी, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।



