
शुक्रबार साँझ पौने ८ बजेदेखि करिव आधा घण्टासम्म भएको उक्त टेलिफोन-वार्तामा महासचिव बानले नेपालको शान्ति प्रक्रिया सफल निष्कर्षमा टुंगिने आशा व्यक्त गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलनराज तुलाधारले जानकारी दिए । महासचिव बानले प्रधानमन्त्री खनालको नेतृत्वमा नै नेपालमा दिगो शान्ति कायम हुने विश्वाससमेत प्रकट गरेका थिए ।
‘यस क्रममा संयुक्त राष्ट्र संघ नेपाललाई आवश्यक जुनसुकै सहयोग गर्न तयार छ । तर तपाईर्हरु उन्नत समझदारीका साथ सफलतामा पुग्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ महासचिव बानको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री खनालले भने नेपाल संक्रमणकालको अन्तिम र निर्णायक चरणमा रहेको उल्लेख गर्दै शान्ति प्रक्रियामा महत्वपूर्ण प्रगति हासिल गर्न मुलुकका तीन प्रमुख दलहरुको बीचमा गम्भीर छलफलको प्रक्रिया चलिरहेको जानकारी दिए ।
‘शान्ति प्रक्रियाको सफलताका निम्ति नै मैले निश्चित समयसीमा तोकेर प्रयत्न गरिरहेको छु र ठोस प्रगतिका लागि प्रमुख राजनीतिक दलका जिम्मेवार नेताहरुलाई अबिलम्ब निष्कर्षमा पुग्न आहृवान गरेको छु,’ प्रधानमन्त्रीले भने, ‘अन्यथा अगष्ट १३ तारिखमा मैले प्रधानमन्त्री पदबाट राजीनामा दिने कुरासमेत सार्वजनिक गरिसकेको छु ।’
टेलिफोन कुराकानीमा प्रधानमन्त्रीले लडाकु समायोजनका लागि आधारहरु तयार गरिएकोसमेत जानकारी गराएका थिए । उनले लडाकु समायोजनको पोडालिटी, मापदण्ड, संख्या, श्रेणी र पुनर्स्थापना प्याकेजका विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।
प्रधानमन्त्री खनालले संविधान मस्यौदा निर्माणका लागि विवादहरु साँधुरिँद गएको जानकारी गराएका थिए । उनले राज्यपुनर्संरचनामा मधेसी मोर्चासहितका दलहरु पनि सहमति नजिक आएको महासचिव बानलाई जानकारी दिए ।
प्रधानमन्त्री खनालससँग महासचिव बानले टेलिफोनमा कुराकानी गरेको यो दोस्रोपटक हो ।



