नेपालीहरुको औसत आम्दानी पाँच गुणाले बढेको भन्ने पछिल्लो सरकारी तथ्यांक प्रति अर्थविदहरुको आलोचना

– नेपालीहरुको औसत आम्दानी पाँच गुणाले बढेको भन्ने पछिल्लो तथ्यांकले दिगो आर्थिक प्रगतिको संकेत दिएको सरकारी भनाइप्रति कतिपय अर्थविदहरुले प्रश्न उठाएका छन्।


विदेशमा काम गर्ने नेपालीहरुले पठाएको विप्रेषण अर्थात रेमिटेन्सका कारण देशभित्रका नेपालीहरुको औसत आम्दानी पाँच गुणा बढेको देखाएकोले त्यसलाई भरपर्दो प्रगति मान्न नसकिने कतिपय अर्थविदहरुको भनाई छ।

विश्व बैंकको सहयोगमा केन्द्रिय तथ्यांक विभागले गरेको पछिल्लो जीवनस्तर सर्वेक्षणको नतीजाले आम्दानी ह्वात्तै बढेको देखाएको थियो।


पन्ध्र वर्ष अगाडि गरिएको त्यस्तै सर्वेक्षणको परिणामसंग तुलना गर्दा औसत आम्दानी पाँच देखि सात गुणा बढेको देखिएकोले त्यसले आर्थिक प्रगतिको दह्रो संकेत दिएको सरकारी अधिकारीहरुले बताएका छन्।


तर त्यसको मूल कारण विप्रेषण अर्थात रेमिटेन्स बताइएकोले यसले दिगो प्रगतिको पटक्कै छनक नदिएको धेरै अर्थविदहरुको भनाई छ।