काठमाडौ । मन्त्रिमण्डलमा एमाओवादीका तर्फबाट सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न पाँच मन्त्रीको सम्पत्ति आज सार्वजनिक गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार उहाँहरूले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको छ ।
जसअनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको गोरखाको जौवारी वडा नं. ६ मा अंशवण्डाबाट प्राप्त पैतृक सम्पत्तिका रुपमा करिब ३८ रोपनी जग्गा, पार्टीको सहयोगमा एउटा जीप रहेको छ ।
सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीको नुवाकोटको तुप्चेमा एउटा कच्ची घर तथा राममायाँ बोगटीसहितका नाममा चार रोपनी जग्गा पैतृक सम्पत्ति रहेको छ ।
पैतृक सम्पत्तिकै रुपमा मन्त्री बोगटीसँग आधा तोला सुन रहेको छ भने पार्टीले उपलब्ध गराएको एउटा गाडी पनि रहेको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री जयपुरी घर्तीको रोल्पा राङ्सीमा पुख्र्याैली सम्पत्तिका रुपमा शेरबहादुर घर्तीमगरका नाममा एउटा घर र अनुमानित ४० रोपनी जग्गा रहेको छ ।
मन्त्री घर्तीले भर्नुभएको फाराममा उल्लेख भएअनुसार उहाँसँग दुई तोला सुन र नगद रु चार लाख रहेको छ । उहाँसँग दुईवटा भैंसी, पाँच वटा बाख्रा र तीन वटा गोरु रहेका छन् ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री लोकेन्द्र विष्ट मगरको सम्पत्ति विवरणमा रुकुमको मुरुमा गङ्गा बुढाको नाममा एउटा घर र १० रोपनी जग्गा रहेको छ ।
मगरको बहुउद्देश्यीय लाली गुराँस सहकारीमा नगद रु पाँच हजार ८०० रहेको छ ।
उद्योगमन्त्री महेन्द्र पासवानको सम्पत्ति विवरणमा जनाइएअनुसार सिरहाको मझौलिया एउटा घर र घुटर पासवानको नाममा एक रोपनी जग्गा रहेको छ ।
उहाँको श्रीमतीको नाममा रु एक लाख नगद, तीन तोला सुन र १५ तोला चाँदी रहेको जनाइएको छ ।