नेपालगन्जमा थरुहट-तराई पार्टी नेपाल घोषणा


 

-जनक नेपाल

 

नेपालगन्ज  – चार बर्षदेखि जातीय मुक्ति आन्दोलनमा लागेको थरुहट स्वायत्त परिषद्सहितका थारु संघ-संस्थाहरुले शुक्रवार नेपालगन्जमा थरुहट-तराई पार्टी नेपाल घोषणा गरेका छन् । 


उक्त पार्टीको अध्यक्षमा लक्ष्मण थारु र बरिष्ठ नेता गोपाल दहित छन् । त्यस्तै, भानुराम थारु र हरिनारायण थारु उपाध्यक्ष, नन्दकुमार थारु महासचिव, मिनराज चौधरी सचिव र खड्कबहादुर चौधरी कोषाध्यक्ष छन् । मोहम्मद क्युब खाँ, कृतिबहादुर थापा, नारायणी चौधरी, त्रिलोकी थारुलगायत सदस्य छन् ।

थरुहट पार्टीको घोषणा गर्दै अध्यक्ष लक्ष्मण थारुले राष्ट्रिय अखण्डता, लोकतन्त्र, बहुदलिय प्रतिस्पर्धा र संघीय समाजवाद आफ्नो पार्टीको आर्दश रहेको बताए । तराईलाई मधेसीकरण गर्ने मुख्य दलहरुको षडयन्त्रबिरुद्ध थरुहट पार्टीले आन्दोलन जारी राख्ने उल्लेख गर्दै उनले भने,-‘अखण्ड नेपाल, संविधान र शान्तिका लागि मधेसी समुदायसंग एक ठाउँमा रहे पनि तराईलाई मधेस स्वीकार्न सक्दैनौं ।’

संविधान र शान्ति प्रक्रिया टुंगो नलाग्दासम्म थरुहट पार्टी सडक संघर्षमा रहने अध्यक्ष थारुले बताए । ‘माओवादी लडाकुलाई सेनामा समायोजन गर्दैमा शान्ति प्रक्रिया टुंगिन्न’-उनले भने,-सबैले स्वीकार्ने संविधान नहुँदासम्म आन्दोलन जारी रहन्छ । माओवादी लडाकुलाई समूहगत समायोजन गरिए १० हजार थारु युवालाई पनि सेनामा समायोजन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।

भदौ १४ गतेसम्म संविधानको मस्यौदा नआए १५ गतेदेखि सभासद्हरुलाई सामाजिक बहिस्कारको अभियान थाल्ने अध्यक्ष थारुले बताए । बरिष्ठ नेता गोपाल दहितले थरुहट पार्टी सुरुमा क्षेत्रीयस्तरको भए पनि बहुसंख्यक राष्ट्रप्रेमी नेपालीको मन जितेर छिट्टै राष्ट्रिय पार्टी बन्ने दाबी गरे ।