-गोपाल प्रसाद भट्टराई।
साउन–१५,अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जंगली जनावरबाट खेती जोगाउने नाममा विद्युतिय पासो नथाप्न किसानहरुलाई आग्रह गरेको छ ।
बाँदर, बँदेल लगायतका जंगली जनावरले खेती सखाप पार्यो भन्दै जनावरलाई धपाउने हेतुले विद्युतिय धराप (पासो) थाप्ने प्रवृति बढेको भन्दै प्रशासनले त्यसो नगर्न अनुरोध गरेको हो ।
“जंगली जनावरबाट खेती संरक्षण गर्ने बिषयमा र त्यस्ता जनावरको दिगो व्यवस्थापनको बिषयमा जिल्ला स्तरिय बिपद् व्यवस्थापन समिति सहित सरोकारवाला टोलीले घनिभुत छलफल चलाएको, संघिय तथा प्रदेश सरकारसंग समेत ध्यानाकर्षण गराएको र डिभिजन वन कार्यालयको समन्वयमा २० जना हेरालु समेत खटाएकोले मापदण्ड बिपरितका कार्य नगर्न नगराउनुहुन अपिल गर्दछौं ।” जिल्ला प्रशासन अर्घाखाँचीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा अगाडि भनिएको छ ।
“विगतमा पनि विद्युतिय पासोमा परेर धनजनको समेत क्षति भएको अवस्थामा अहिलेपनि विभिन्न ठाउँमा मापदण्ड बिपरित त्यस्ता पासो थाप्ने कार्य भएको भनि जनगुनासो आएको छ । सानो लापर्बाहीले ठुलो नोक्सान हुने हुँदा मापदण्ड बिपरितका कुनैपनि कार्य नगर्नुहुन अनुरोध छ ।”