प्रधानमन्त्री भट्टराईद्धारा चार लाख रुपैयाँ नगद र दुई रोपनी पाखोबारी रहेको सम्पति विवरण सार्वजनिक

काठमाडौ  – प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईले आफ्नो नाममा चार लाख रुपैयाँ नगद र दुई रोपनी पाखोबारी रहेको सम्पति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणमा चार लाख नगद मन्त्री र सभासद् हुँदाको भत्ता र वेतनबाट बचेको उल्लेख गरिएको छ भने गोर्खाको खोप्लाङमा रहेको करिव २ रोपनी पाखोबारी पैतृक सम्पति उल्लेख गरिएको छ ।

प्रधानमन्त्री भट्टराई भन्दा छोरी मनुषी यमी भट्टराई धनी छन् । उनको नाममा गोरखामा १७ रोपनी भन्दा बढि पाखोवारी तथा खेत रहेको छ । १० रोपनी खेत हजुरवुवा (प्रधानमन्त्रीका पिता) ले बकसपत्र दिएका हुन भने ७ रोपनी भन्दा बढी पाखोवारी छोरीलाई अंश दिइएको उल्लेख छ ।

त्यसैगरी छोरी मानुषीको राष्ट्रिय वाणिज्य बैंकमा करिब १० लाख रुपैयाँ नगद रहेको पनि उल्लेख गरिएको छ । उक्त रकम आमा हिसिला यमीको घर बेचेर छोरीलाई अंश दिइएको तथा र जनयुद्ध कालमा उनका ठूलीआमाहरूले सहयोग स्वरुप दिएको उल्लेख छ ।

भट्टराईले चढ्ने गरेको स्कोरपियो गाडी पार्टीको भएको विवरणमा उल्लेख छ । तर प्रधानमन्त्रीकी पत्नी हिसिला यमीको नाममा सम्पति भएको विवरणमा उल्लेख छैन ।