काठमाडौ – मधेशवादी तराइ केन्द्रित दल तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । मुटुको चाल कम भएपछि जडान गरिएको ‘पेस-मेकर’ बिहीबार बिहान ६ बजेटबाट हटाइएको छ ।
ठाकुरका सहयोगी ज्ञानेन्द्र झाका अनुसार मुटुको चाल सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले ‘पेस-मेकर’ हटाएका छन् । ठाकुरलाई सहिद गंगालाल हृदय केन्द्रको सीसीयू कक्षमा राखिएको छ ।
ठाकुरलाई बुधबार अपरान्ह असजिलो भएपछि केन्द्रमा भर्ना भएका थिए । उनको मुटुको चाल एक्कासि कम भएको र रक्तचाप पनि घटेका थियो । उपचारमा संलग्न डा.यादव भट्टले ठाकुरलाई दुई-तीन अस्पतालमै बस्नुपर्ने बताएका छन् ।