पार्टि उपाध्यक्ष मोहन वैद्य पक्षधरहरुले बहिष्कार गरेपनि कार्यकर्ता प्रशिक्षण कार्यक्रम यथावत रहने अध्यक्ष प्रचण्ड पक्षधरहरुले बताएका छन्।
पार्टिभित्रको विवाद सुल्झाउन केन्द्रिय समितिको बैठक डाक्नुको साटो प्रशिक्षण कार्यक्रम राखेको भन्दै रिसाएका असन्तुष्ट पक्षहरुले छुट्टै प्रशिक्षण कार्यक्रम राख्ने बताएका छन्।
आन्तरिक कलह बढ्दै गएपछि त्यसलाई साम्य पार्न असोज १३ गतेका लागि डाकिएको केन्द्रिय समितिको बैठक चाडबाडका कारण स्थगित गरिएको थियो।
तर त्यसपछि नयाँ मिति तोक्नुको साटो पार्टिले असोज २९ गते राष्ट्रिय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तोक्यो।
त्यसबाट क्रुद्ध उपाध्यक्ष वैद्य पक्षधरहरुले त्यसको बहिष्कार गर्ने मात्र होइन छुट्टै भेला गर्ने बताए।
असन्तुष्टहरुको सो चेतावनीपछिपनि पार्टिको कार्यक्रम यथावत रहेको प्रवक्ता दिनानाथ शर्माले बताएका छन्।
उनले असन्तुष्ट पक्षहरुले आव्हान गरेको भनिएको छुट्टै भेला अवैधानिक भएको समेत बताए।



