काठमाडौं, ८ कात्तिक प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरेको बिपा सम्झौपछि माओवादीमा देखिएको विवादका बिषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा दिउँसो ३ बजे बस्ने बैठक प्रधानमन्त्री डा। बाबुराम भट्टराईको भारत भ्रमणमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्रीले भारतमा रहँदा गरेको बिपा सम्झौता र पार्टीभित्रैबाट चर्किएको विरोधका बारेमा बैठकमा छलफल हुने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । प्रधानमन्त्रीले बिपा सम्झौता गरेपछि केही प्रतिपक्षी दल र माओवादीको वैद्य समूहले त्यसको विरोध गरेको छ । माओवादीका महासचिव रामबहादुर थापाले, पार्टी अध्यक्षले समेत नगर्नु भनेको सम्झौतामा प्रधानमन्त्रीले हस्ताक्षर गरेर भारतपरस्त हुन खोजेको आरोप लगाउँदै सडक आन्दोलन गर्ने चेतावनी दिए । तर सम्झौताका बारेमा अहिलेसम्म केही नबोलेका अध्यक्ष प्रचण्डले भने आज बैठक बसेर सम्झौताका बारेमा आधिकारिक धारणा तय गर्ने बताएका छन् ।
प्रवक्ता शर्माले असन्तुष्टिहरु पोख्ने आधिकारिक निकाय पार्टीभित्रै हुँदाहुँदै सडक आन्दोलन गर्नु र संसदमा विरोध गर्नु गलत भएको टिप्पणी गरे । आज प्रधानमन्त्रीले गरेको बीपा सम्झौता र नीति विपरित सडकमा गरिएको प्रदर्शन दुइटै विषयमा बैठकमा छलफल हुन्छ शर्माले भने ।
यसैबीच, स्थायी समितिको एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदैछ । प्रचण्ड निवास नयाँबजारमा बिहान ११ बजे हुने भेटमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका बारेमा पनि अध्यक्षलाई विस्तृत जानकारी गराएपछि एजेण्डा बनाउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए ।



