काठमाडौं, १७ कात्तिक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृयाका विषयमा भएको ऐतिहासिक सहमतिसँगै संविधान निर्माणको कामले पनि तीब्रता पाउने बताएका छन् ।
आफू निकटको समाचार पाक्षिकमा दिएको अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणका लागि राज्यपुनर्संरचनाका बाहेकका अरु विषयमा सहमति भइसकेको बताए ।
प्रचण्डले राज्यपुनर्संरचनाका लागि विज्ञहरुको टोली बनेपछि संविधान निर्माणको काम पनि सफलतापूर्वक सम्पन्न हुने जिकिर गरे ।
सातबुँदे सहमतिलाई उपाध्यक्ष मोहन वैद्य किरणले असहमति जनाउँदै खारेज गर्न माग गरेपछि प्रचण्डले असहमति भयो भनेर सडक जानुभन्दा पार्टी विधान र जनवादी केन्द्रीयताका आधारमा केन्द्रीय समितिबाट निकास खोज्न वैद्य पक्षलाई आग्रह गरे । खोजेको मन्त्रालयमा नपाएका कारण भएको आन्दोलन र असहमतिले कुनै अर्थ नराख्ने प्रचण्डको भनाई छ । आफू क्रान्तिप्रति प्रतिवद्ध रहेको भन्दै प्रचण्डले दुनियामा कुनैपनि ठाउँमा एकै प्रकारले क्रान्ति नभएको दावी गरे । उनले सातबुँदे सहमति नयाँ क्रान्तिको आधार भएको तर्क गरे ।



