ढुंगेललाई आममाफी दिने निर्णय उल्टाउन एमालेको माग

२४ कात्तिक, काठमाडौँ । नेकपा एमालेले व्यक्ति हत्याको अभियोगमा अदालतबाट सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णय उल्टाउन माग गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले ढुंगेलको मुद्दा फिर्ता दिने सरकारी निर्णयमा आपत्ति जनाउँदै उल्टाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो । व्यक्ति हत्याको अभियोग लागेका सभासद् ढुंगेललाई आममाफीको प्रक्रिया अगाडि बढाएर सरकारले कानुनी राज्यको उपहास गर्नुका साथै दण्डहीनतालाई प्रश्रय दिएको एमालेको ठहर छ । एमालेले प्रधानमन्त्री डा। बाबुराम भट्टराईले दलहरुसँग छलफल नै नगरी एकपक्षीय रुपमा मन्त्रिमण्डल विस्तार र राजदूत नियुक्तिका लागि सिफारिस गरेको गरेको भन्दै आपत्तिसमेत जनाएको छ । प्रधानन्त्रीको एकल निर्णयले प्रमुख दलहरुबीच गत १५ कात्तिकमा भएको सातबुँदे समतिको ठाडो उल्लङ्घन गरेको एमालेको निष्कर्ष छ । सरकारको पछिल्ला गतिविधिले दलहरुबीच अविश्वास बढाएको एमालेले जनाएको छ ।
सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठबाट ढुंगेलको मुद्धा फिर्ताको निर्णय गर्दैर् आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर(२ का निर्वाचित सभासद् ढुंगेलमाथि उज्जनकुमार श्रेष्ठलाई अपहरणपछि हत्या गरेको अभियोग छ । ओखलढुंगा जिल्ला अदालतले ढुंगेललाई सर्वस्वहरणसहित आजीवन कारावासको सजाय सुनाएको थियो । माओवादी र सरकारले भने शान्ति सम्झौता हुनुअघि भएका घटनालाई आधार मानेर मुद्धा लगाउन नमिल्ने बताउँदै आएको छ ।