



गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
मंसिर–०१,अर्घाखाँची – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा ६ वटा मतदान स्थल थप गर्नको लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा ६ मतदान स्थल थप गर्ने निर्णय गर्दै जसको लागि निर्वाचन आयोगमा सिफारिस पठाएको हो ।

सिफारिस समितिले शितगंगा नगरपालिका ११ को धर्मदय मा.वि. ढुङ्गेशेरा, दुम्सी आधारभूत विद्यालय दुुम्सी, तारा ज्योति आधारभूत विद्यालय दोबाटो, शितगंगा–१३ मा मुसिवान आधारभूत विद्यालय मुसिवान मतदानस्थल बनाउन सिफारिस गरेको हो । त्यस्तै पाणिनी गाउँपालिकाको सरस्वती मा.वि.पणेना र पाणिनी–३ मा सरस्वती भवन राष्ट्रिय मा.वि. हर्राबोट खिदिमलाई नयाँ मतदान स्थलको रुपमा थप गर्ने निर्णय गरि केन्द्रीय निर्वाचन आयोगमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले जानकारी दिनुभएको छ ।

सिफारिस समितिको बैठकमा अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न सरोकारवाला संघ÷संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ९७ वटा मतदान स्थल र २ सय २ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय अर्घाखाँचीका नायब सुब्बा डिल्लीराज भुसालले बताउनुभएको छ ।



