



गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
मंसिर–२, अर्घाखाँची- सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्थाको सातौं साधारणसभा तथा छैठौं अधिवेशन मंगलबारबाट सुरु भएको छ ।

साधारणसभाको समुद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले पहाडि जिल्लाको सुन्दर उपत्यका सन्धिखर्क र चुत्रावेसी सहित समग्र सन्धिखर्कको समृद्धिका निम्ती सबैको हातेमालोको खाँचो औल्याउनुभएको छ ।



सन्धिखर्कको हराभराको निम्ती आफु र आफ्नो टिम लागिपरेको भन्दै उहाँले सबैले कुशल जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी जस्तो अपरिहार्य खाद्य पदार्थको सेवा दिने पवित्र संस्थालाई पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिनेगरि काम गर्नु नयाँ आउने कार्यसमितिलाई नगरप्रमुख श्रेष्ठको सुझाव छ । सन्धिखर्क क्षेत्र कृषि र धार्मिक पर्यटनको दृष्टिकोणले प्रबल सम्भावना बोकेको भन्दै उहाँले यसबाट सफलता मिल्ने गरि काम गर्नपनि अपिल गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सन्धिखर्कका निमित्त प्रमुख गोविन्द आचार्यले स्वच्छ, गुणस्तरिय र सुरक्षित पिउनेपानी बितरणमा ध्यान दिन र मिलेर संस्थाको विकासमा लाग्न आग्रह गर्नुभयो ।


जिल्ला स्थित कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले खानेपानीमा दलिय हस्तक्षेप नभएको दाबी गरेका छन् । खानेपानीको मुलसंस्थामा नयाँ कार्यसमितिको लागि २ वटा प्यानल देखिएपछि सन्धिखर्कमा क्रियाशिल राजनितिक दलले आ–आफ्नो विवेक प्रयोग गरि ति प्यानलाई समर्थन गरेको प्रष्ट पारेका छन् ।

उनिहरुका अनुसार युवराज खत्री प्रेमको नेतृत्वमा रहेको प्यानललाई आफुहरुको समर्थन रहेको र बाबुराम भुसाल साथी नेतृत्वको प्यानलाई राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र नागरिक समाज सहितका समुहले समर्थन गरेका छन््् । यद्धपि राजनितिको विकल्प राजनिति नै हुने भन्दै उनिहरुले जिल्लाको विकास र निकासको निम्ती चार दलको बिचमा कार्यगत एकता गरेको बताएका छन् ।

नेपालको संविधानले राजनितिक विहिनताको परिकल्पना नगरेको भन्दै उनिहरुले यहाँ स्वतन्त्र भन्नेहरुले पनि संगठन बनाउने होडबाजी सुरु गरेको तर्क गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राख्दै जिल्लाको समृद्धिका निम्ती सबैपक्षको हातेमालो जरुरी रहेको बताएका छन् ।


संस्थाको साधारणसभाको कार्यक्रम मंगलबारनै सकिएको सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्थाका कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यको भनाई छ ।

“साधारणसभाको सबै कार्यक्रम सकिए, नयाँ कार्यसमितिको नेतृत्व चयनको लागि अधिवेशनको काम बाँकी छ ।”कार्यालय प्रमुख आचार्यले भन्नुभयो,“सर्वसहमतीको प्रयास जारी छ, सहमती हुन नसकेमा नयाँ नेतृत्वको लागि बुधबार बिहान १० बजेदेखि सांझ ५ बजेसम्म मतदानको कार्य अगाडि बढ्ने छ ।”



