



अर्घाखाँची: कम्प्युटर एसोसिएसन नेपाल महासंघ, अर्घाखाँची जिल्ला शाखाको वार्षिक साधारण सभा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । क्यान अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष श्रीजना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।


विशेष अतिथिहरुमा केन्द्रीय सचिव नारायण श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनाल, लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्ण खनाल रहनुभएको थियो ।

संस्थाको मुख्य उद्देश्य सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संस्था तथा व्यक्तिहरुलाई एउटै छातामुनि समेट्दै समन्वय, प्रवद्र्धन र प्रविधिको प्रभावकारी प्रयोगलाई अघि बढाउने रहेको छ ।

कार्यक्रममा जिल्ला शाखा अध्यक्षद्वारा संस्थाले हालसम्म गरेका गतिविधि, उपलब्धि तथा आगामी योजनाहरुबारे विस्तृत रुपमा प्रस्तुत गरिएको थियो ।

साथै, सूचना प्रविधिलाई ग्रामीण तहसम्म विस्तार गर्ने, आईटी व्यवसाय र दक्ष जनशक्ति विकासमा सहकार्य गर्ने तथा युवालाई प्रविधिमैत्री बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने विषयमा पनि जोड दिइएको थियो ।


प्रमुख तथा विशेष अतिथिहरूले संस्थाको पहल र आगामी योजनाको उच्च प्रशंसा गर्दै, अर्घाखाँची जिल्लालाई प्रविधि क्षेत्रमा उत्कृष्ट नमुना जिल्लाको रुपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सि बि ए अध्यक्ष कृष्ण बर्मा र पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम नारायण आचार्य समेतको सहभागिता रहेको उक्त कार्यक्रममा सुचना प्रविधि सम्बन्धी छलफल पनि गरिएको थियो । अन्तमा, कम्प्युटर एसोसिएसन नेपाल महासंघ, अर्घाखाँची जिल्ला शाखाका अध्यक्षले सबै सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको घोषणा गर्नुभएको थियो।


जिल्लाका सुचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित संस्था र व्यक्तिहरु र विभिन्न विद्यालयका कम्प्युटर शिक्षक र विद्यार्थीहरु समेत गरि करिव ३५ जनाको सहभागीता रहेको उक्त कार्यक्रम क्यान अर्घाखाँची सचीव बिष्णु प्रसाद पोख्रेलले संचालन गर्नुभएको थियो ।
थप तस्बिर ः










