देउवापक्षको असहमतिपछि केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, ७ मंसिर पार्टीको आन्तरिक विवादका कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आज समसामयिक राष्ट्रिय राजनीति र पार्टीका आन्तरिक विवादका विषयमा छलफल गर्न दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको थियो ।
संस्थापन पक्षले एकपक्षीय रुपमा भ्रातृ संस्था विघटन गरेको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवापक्षले विरोध जनाउँदै आएको छ ।
 
देउवापक्षको बैठकमा सहभागी नहुने अडानका कारण आजको बैठक बस्न नसकेको संस्थापनपक्षका केन्द्रीय सदस्य बद्री पाण्डेले ओएनएसलाई जानकारी दिए । यता देउवापक्षका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सभापतिबाट बोलीअनुसारको काम नभएको भन्दै बैठकमा सहभागी हुने वातावरण नबनेको बताए । भ्रातृ संस्थाको विवाद चर्किँदै गएपछि वरिष्ठ नेता शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए । सभापतिले राजीनामा अस्वीकृत गरेपनि विवाद समाधान नगरी राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नभएको देउवाले बताउँदै आएका छन् ।
 
 पार्टी सभापतिले विना कारण भातृ संस्था विघटन गरेकोमा देउवा पक्षले आपत्ति जनाउँदै आएको छ । देउवा पक्षले हिजो साँझ सभापतिलाई भेटी आन्तरिक विवाद मिलाएर मात्रै केन्द्रीय समितिको बैठक डाक्न आग्रह गरेको थियो ।