



-डी.आर जि “सुमन”
अर्घाखाँची। पाणिनी गाउँपालिकाले आयोजना गरेको एक दिवसीय अपाङ्गता परिचयपत्र दर्ता शिविर मंगलबार दुर्गाफाँटस्थित पालिका भवनको परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। शिविर अपाङ्ग व्यक्तिहरूको मौलिक अधिकार र मानवअधिकार सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको थियो।

यस कार्यक्रम अन्तर्गत गाउँपालिकाका ८ वटै वडाका अपाङ्ग व्यक्तिहरूलाई लक्षित गरी परिचयपत्र वितरणको प्रक्रिया अगाडि बढाइएको सहायक महिला विकास निरीक्षक निर्मला चालिसेले बताउनुभयो। शिविरमा उपस्थित ४० जनामध्ये ३९ जना नागरिकलाई आवश्यक जाँच, कागजात प्रमाणीकरण र अपाङ्गताको प्रकृतिअनुसार परिचयपत्र वितरण गरिएको उपाध्यक्ष नर्मदा पौडेलले जानकारी दिनुभयो।


शिविरमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम, २ नं वडा अध्यक्ष चन्द्रकान्त पौडेल, ३ नं वडा अध्यक्ष युवराज ज्ञवाली, ६ नं वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, ७ नं वडा अध्यक्ष गुनाखर अधिकारी, ८ नं वडा अध्यक्ष रोमबहादुर पाण्डे सहित कार्यपालिका सदस्य र कर्मचारीहरू उपस्थित थिए।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा, सुविधा पहुँच र अधिकार संरक्षण सम्बन्धमा जानकारी तथा सुझाव प्रदान गरे।


पाणिनी गाउँपालिकाले आगामी दिनमा अपाङ्गता सेवा, परिचयपत्र वितरण र सामाजिक समावेशी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


शिविरले अपाङ्ग व्यक्तिहरूलाई सेवा पहुँचमा सहजता, सामाजिक सम्मान र अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भएको विश्लेषकहरूले बताएका छन्।
तस्बिर :










