काठमाडौ, मंसिर २५ कांग्रेसको आन्तरिक विवादका कारण महाधिवेशन सकिएको १५ महिना पुग्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । पार्टी सञ्चालनबारे सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा पक्षबीच मतान्तर एकपछि अर्को गरी बढ्दो छ ।
विधानतः दुई महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टी निकायहरूले पूर्णता पाएको छैन । पार्टीका आन्तरिक गतिविधि ठप्प प्रायः छ । पदाधिकारी मनोनयनदेखि भ्रातृसंस्था विघटन गर्ने संस्थापनको निर्णयलाई लिएर उत्पन्न किचलोका कारण सभापति कोइराला अनिर्णयको बन्दी बनेका छन् ।
सभापति कोइरालाले केन्द्रीय कार्यसमितिमा एक सहमहामन्त्री र ५ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । २१ सदस्य मनोनयन गर्न पाउने व्यवस्थाअनुसार उनले १६ जना मात्रै चयन गरेका छन् । पार्टी आन्तरिक संगठनलाई अघि बढाउन महत्त्वपूर्ण निकाय ३२ विभाग, केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति, अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति र केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान गठन हुन सकेको छैन ।
महाधिवेशनपछि नयाँ ढंगले अघि बढ्नुपर्नेमा सामान्य विषय वस्तुको समेत बोध नभएजस्तो गरी वरिष्ठ नेताबाटै व्यक्तिगत समझदारी र सरसल्लाहका कुराहरूलाई नीतिगत निर्णयजस्तो बनाएर अघि आउँदा सबै कुरा रोकिएको धारणा केन्द्रीय सदस्य नरहरि आचार्यको छ । यस्तो अप्ठ्यारो पार्ने काम देउवाबाट भए पनि सभापति अघि बढ्नुपर्ने सुझाव उनको छ । ुकार्यक्रम र विधानले आवश्यक देखेका न्यूनतम संरचनाका कामसमेत अघि नबढ्दा अवरोध पुर्याउनेलाई मात्रै दोष हुँदैन । अग्रसरता लिन नसकेको दोष पनि आउँछ,ु आचार्यले भने, ुत्यसका लागि सभापतिको नाताले कोइरालाले अग्रसरता लिनुपर्छ ।ु
पक्षबाट आएको किचलो सत्तासँग जोडिएको विश्लेषण संस्थापन पक्षको छ । पार्टी सभापति र संसदीय दलको नेताबाट पराजित देउवाले पार्टीभित्र आफ्नो भूमिका खोजेका छन् । पार्टीले नेतृत्व गर्ने अवसर पाए प्रधानमन्त्री बन्नुपर्ने दाउमा उनी छन् ।
देउवालाई पार्टीभित्र ुवरिष्ठताकोु भूमिका दिन तयार देखिए पनि संस्थापन पक्ष भित्रैदेखि प्रधानमन्त्री बनाउन चाहन्न । राष्ट्रिय सहमतीय सरकारको चर्चा चलेलगत्तै देउवाले त्यसको नेतृत्व आफूले गर्ने दाबी गरिसकेका छन् । ुसत्तासँगको मुद्दाकै कारण पार्टीभित्र किचलो बढेको हो । यही कारणले पार्टीको आन्तरिक अवस्था अहिले अत्यन्त संकटग्रस्त अवस्थामा पुगेको छ,ु आचार्यले थपे, ुमूल प्राथमिकताको विषय एकातिर पन्छाएर सत्ताको विषयलाई केन्द्रीय विषय बनाएर अघि बढ्दाखेरी त्यो केवल अप्ठ्यारो सिर्जना गर्ने काम मात्रै हुन्छ । त्यसले आन्तरिक लोकतन्त्रमा सुदृढ गर्न सक्दैन ।ु तर देउवापक्ष यसलाई मान्न तयार छैन । देउवालाई पार्टीभित्र भूमिका दिनुपर्ने माग भए पनि प्रधानमन्त्रीकै लागि अहिलेको विवाद नभएको उनीहरू बताउँछन् । महाधिवेशनमा चालीस प्रतिशत बढी मत ल्याएर एउटा बलियो हैसियत बनाएको समूहलाई अलग्याएर पार्टी सञ्चालन गर्न खोज्दा विवाद सिर्जना भएको देउवा समूहको तर्क छ । पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा भएको ुएकलौटीपनु र आफ्नो पक्षको वर्चस्व रहेको भ्रातृसस्था विघटनलाई लिएर यो पक्ष आक्रोशित छ । देउवा पक्षीय नेता गोपालमान श्रेष्ठका अुनुुसार विवाद प्रधानमन्त्रीका लागि नभएर देशभरका कार्यकर्ताको संरक्षण र प्रतिनिधित्व गराउने विषय हो । ुपार्टी मिलाउने जिम्मेवारी सभापतिको नै हो । एकतर्फी ढंगबाट पार्टी सञ्चालन हुँदैन, सहमतिमा दुवै पक्षलाई समेटेर अघि बढ्नुपर्छ,ु उनले भने ।
भ्रातृसंस्था विघटन मुद्दालाई लिएर देउवा पक्षले यसअघिका दुई केन्द्रीय समितिको बैठक बहिष्कार गरेको छ । जसका कारण विवाद सतहमा पुगेको छ । भ्रातृसंस्था विघटन उल्टाउन माग राखेको देउवा पक्षले पछिल्लोपटक पार्टीका सबै विभाग र समितिहरू प्याकेजमा सहमति हुनुपर्ने बताएको छ । यसमा कोइराला पनि सहमत छन् । देउवा पक्षले उठाएकामध्ये संसदीय समितिबाहेक अन्यमा कोइराला मिलाएरै लैजान तयार छन् । त्यसका लागि उनले नामावली दिन दुईपटक देउवालाई भेटेरै आग्रह गरे । तर देउवाले सबै विषय मिलाउन दुवै पक्षको सदस्य सम्मिलित कार्यदल गठन गर्नुपर्ने माग उठाएर विवाद तन्काएको आरोप कोइरालाको छ ।
कोइराला विभागमा आफ्नो पक्षमा बहुमत राख्नेगरी सम्मानजनक हैसियत दिन र भ्रातृसंस्थाको तयारी समितिसमेत नेतृत्वसहित बराबरी हैसियत दिन तयार छन् । यसअघि देउवा पक्षीय भ्रातृसंस्थाहरूमा तयारी समिति बनाउँदा पनि नेतृत्व दिन तयार छन् । तर कोइराला पक्षले महिला संघका अध्यक्ष अम्बिका बस्नेत र तरुण दल अध्यक्ष महेन्द्र यादव केन्द्रीय सदस्य र सभासदसमेत रहेकाले अधिवेशन गराउन नभ्याउने भन्दै अर्को नाम दिन आग्रह गरेको छ । त्यस्तै मनोनीत गर्न बाँकी ५ केन्द्रीय सदस्यमध्ये दुई र सहमहामन्त्री देउवापक्षलाई दिन कोइराला तयार छन् । ुसबैलाई मिलाएर लैजान अहिलेसम्म कुरेँ, मंसिर मसान्तसम्म वरिष्ठ नेतालाई विभागका संयोजक र भ्रातृसंस्थाको तयारी समितिमा राख्ने नामावली दिन आग्रह गर्नुभएको छ,ु महामन्त्री प्रकाशमान सिंहले भने, ुनाम नपाए तेरो मेरो नभनी पार्टीमा योगदान दिएका सबै साथीहरूलाई समेटेर अघि बढ्छु भन्नुभएको छ ।
कोइराला तत्काल भ्रातृसंस्थाको ६ महिनाभित्र अधिवेशनका लागि तयारी समिति बनाउने, विभागहरू गठन गर्ने र चौध अञ्चल र उपत्यका संयोजक तोक्ने तयारीमा छन् । देउवा पक्षीय नेता श्रेष्ठ भने वरिष्ठ नेता बाहिर जिल्लामा रहेको बेला प्रतिक्रियाका आधारमा सभापतिले अल्टिमेटम दिन नहुने प्रतिक्रिया दिए ।



