



-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा प्रदान गरिँदै आएका सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सेवाग्राहीका प्रत्यक्ष गुनासा, सुझाव र अपेक्षालाई सुनुवाइ गर्दै सेवा सुधारका उपाय पहिचान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।


सार्वजनिक सुनुवाइ कार्यक्रम प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने नागरिकता, राहदानी सिफारिस, दर्ता–चलानी, शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायतका सेवाबारे विस्तृत छलफल गरिएको थियो।


कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, तीनै सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले प्रशासनिक सेवा प्रवाहको वर्तमान अवस्था, समस्या र सुधारका सम्भावनाबारे खुलेर धारणा राखेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला प्रशासन कार्यालय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील कार्यालय भएको उल्लेख गर्नुभयो।

उहाँले सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिकमैत्री बनाउने प्रशासनको दृढ प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव र गुनासालाई गम्भीरतापूर्वक लिएर सुधारका लागि ठोस कदम चालिने बताउनुभयो।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले संघीय संरचनामा जिल्ला प्रशासन कार्यालयको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तह, सुरक्षा निकाय र प्रशासनबीचको समन्वय मजबुत बनाउन सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम हुने धारणा राख्नुभयो।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सेवाग्राहीले भोग्दै आएका ढिलासुस्ती, प्रक्रियागत झन्झट र सूचना अभाव जस्ता समस्याहरू क्रमशः समाधान गर्न प्रशासनले निरन्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्थानीय तहले पनि प्रशासनसँग सहकार्य गर्दै सेवा सुधारमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

सार्वजनिक सुनुवाइका क्रममा सेवाग्राहीहरूले सेवा लिने क्रममा देखिएका ढिलासुस्ती, प्रक्रियागत जटिलता, कर्मचारी अभाव, सूचना प्रणालीको कमजोरी लगायतका विषय उठाएका थिए।

जवाफमा सम्बन्धित निकायका प्रमुखहरूले यस्ता समस्या समाधानका लागि आवश्यक पहल गरिने र सेवा सुधारलाई प्राथमिकतामा राखिने आश्वासन दिएका थिए।

कार्यक्रमले प्रशासन र नागरिकबीचको दूरी घटाउन, आपसी विश्वास अभिवृद्धि गर्न तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले प्रशासनलाई थप उत्तरदायी र नागरिकप्रति संवेदनशील बनाउन सहयोग पुर्याउने सहभागीहरूको निष्कर्ष रहेको थियो।
#Arghakhanchi #PublicHearing #DistrictAdministration #ServiceDelivery #GoodGovernance #CitizenFriendly #LocalGovernance #Transparency #arghakhanchicom



