चर्चित निर्वाचन क्षेत्र: अर्घाखाँचीको चुनावी गणित, कसले मार्ला बाजी ? (पुरा समाचार बिवरण सहित)

 

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक अर्घाखाँची पनि रहेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची चुनावको बेला सधै चर्चामा रहने गर्दछ ।

Nepal life insurance

भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोपबहादुर रायमाझी बिना यस पटकको निर्वाचनमा अर्घाखाँचीले नयाँ नेता बनाउने तयारीमा छ । यस कारणपनि अर्घाखाँची यस चुनावमा विशेष चर्चामा रहेको छ ।

अर्घाखाँचीमा ६ पालिका रहेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १२ वडा, शीतगंगा नगरपालिकामा १४ वडा, भूमिका स्थान नगरपालिकामा १० वडा रहेका छन् । त्यस्तै छत्रदेव गाउँपालिकामा ८ वडा, पाणिनी गाउँपालिकामा ८ वडा र मालारानी गाउँपालिकामा ९ वटा वडा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार अर्घाखाँचीमा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ७१ हजार ६५२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा २०९ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९

२०७९ को निर्वाचनमा अर्घाखाँचीबाट नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएक थिए । रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेका थिए ।  त्यस्तै दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी पुष्पा भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् ।  त्यस्तै रास्वपाका हरि प्रसाद भुसालले ३२ सय मत प्राप्त गरेका थिए ।

त्यसैगरी २०७९ को समानुपतितर्फ एमालेले ३७ हजार ४५० मत प्राप्त गरेको थियो भने काँग्रेसले २६ हजार ८६५ मत पाएको थियो । त्यसैगरी रास्वपाले८ हजार ९५१ मत प्राप्त गरेको थियो भने तत्कालिन माओवादी केन्द्रले ७ हजार ३४२ मत प्राप्त गरेको थियो । त्यस्तै राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७ मत पाएको थियो ।

२०४८ र २०५१ सालको निर्वाचनमा अर्घाखाँचीबाट काँग्रेसका रेवती भुसाल विजयी भएका थिए भने २०५६ को निर्वाचनमा जनमोर्चाका डिलाराम आचार्य  विजयी भएका थिए । त्यसपछि टोपबहादुर रायमाझी २०६४, २०७० र २०७४ मा तत्कालिन माओवादीबाट विजयी भए भने २०७९ मा नेकपा एमालेबाट विजयी भएका थिए ।

उम्मेदवार-२०८२ 

२०६४ देखि लगातार निर्वाचित आएका टोपबहादुर रायमाझी जेल परेपछि अर्घाखाँची जनप्रतिनिधिविहिन बन्न पुगेको थियो । अब भने निर्वाचनमार्फत अर्घाखाँचीले नयाँ जनप्रतिनिधि चुन्ने क्रममा रहेको छ । जेलपरे पनि रायमाझी अर्घाखाँचीमा अहिले पनि लोकप्रिय नेता मानिन्छन् । अब यस निर्वाचनमा दल र स्वतन्त्र गरि कुल १५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस पटक एमालेले पिताम्बर भुसाललाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले भने अन्तिम पटक २०५१ मा जितेको अर्घाखाँचीमा यस पटक विष्णु प्रसाद खनाल मुस्कानलाई उम्मेदवार बनाएको छ । त्यस्तै रास्वपाले जिल्ला अध्यक्ष हरि प्रसाद भुसाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले रामबहादुर चौहानलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले पशुपति नाथ ढकाललाई उम्मेदवार बनाएको छ ।

निष्कर्ष

अर्घाखाँचीमा २०६४ पछि पहिलो पटक टोपबहादुर रायमाझी बिना निर्वाचन हुदैछ । यस अर्थमा अब अर्घाखाँचीले जिल्लाको नयाँ निर्वाचित नेता चयन गर्दैछ । जिल्लामा विकास निर्माणका फाइल बोकेर धेरैजसो सिंहदरबार आसपास भेटिने रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेकाले उनी चुनावी प्रक्रियामा सामेल हुन पाएनन् । यस पटक अर्घाखाँचीमा कुन दलले जित्छ भनेर अनुमान गर्ने वातावरण देखिदैन । जिल्लाको चुनावी परिणामलाई व्यक्ति र स-साना दलले पनि विगतमा प्रभाव पार्ने गरेको इतिहास छ ।

यस पटक चुनावी मैदानमा एमाले- काँग्रेसले नयाँ उम्मेदवार बनाएकाले उनीहरुले जनताको विश्वास जित्न र मतदाताले पनि उनीहरुलाई मत दिने विषयमा निर्णय गर्न समय लिएको बुझ्न सकिन्छ । त्यस्तै देशभर आएको रास्वपाको लहरले पनि अर्घाखाँचीमा पनि धेरै हदसम्म चुनाव प्रभावित हुने देखिन्छ । खासगरी युवा पुस्तामा देखिएको परिवर्तनको लहर अर्घाखाँचीमा पनि देखिएको छ । त्यस्तै विशेष महाधिवेशनको पक्षमा लगभग जिल्लाका सबै कार्यकर्ता देखिएको अर्घाखाँचीमा काँग्रेसका कार्यकर्तामा विशेष उत्साह रहेको छ । अर्कोतर्फ एमाले भने आफुले विगतमा पाउदै आएका मत जोगाउन सकेमात्र पनि चुनाव जित्ने आँकलनमा रहेको छ ।

images

अर्घाखाँचीको संसदीय निर्वाचनमा सबैभन्दा ठुलो भूमिका राष्ट्रिय जनमोर्चाको मतले खेल्ने गरेको छ । गत निर्वाचनमा समानुपातिकमा जनमोर्चाले ५३ सय मत प्राप्त गरेको थियो । प्रत्यक्षमा यस पटक उम्मेदवार रहेपनि जित्ने सम्भावना नरहेकाले प्रत्यक्षतर्फका मत काँग्रेस-एमाले र रास्वपाका उम्मेदवारलाई जान सक्ने स्थानीयहरुले विश्लेषण गरेका छन् । र तिनै दलका उम्मेदवारको नजर पनि ति मतमा रहेको छ । समग्रमा बिना गठबन्धन हुन लागेको यस निर्वाचनमा रास्वपाको बढ्दो क्रेज, पुनर्जीवन पाएको काँग्रेस र मत जोगाउन संघर्ष गरिरहेको एमालेबीच प्रतिष्पर्धा हुनसक्ने अनुमान गर्न सकिन्छ ।

#अर्घाखाँचीनिर्वाचन #ElectionNews #NepalPolitics #ChunabUpdate #Arghakhanchi #2082माघ१६ #2026January30 #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु