उच्च सैनिक स्रोतका अनुसार नेपाली सेनाले माग गरेबमोजिमका ती सामग्री चीनको औद्योगिक सहर सांघाईबाट ‘डिस्प्याच’ भइसकेको चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।
सैनिक प्रवक्ता सहायकरथी रमिन्द्र छेत्रीका अनुसार आउन लागेका सामग्रीमा इन्जिनियरिङ उपकरणका साथै डोजर, लोडर, स्क्याभेटर, डम्पिङ ट्रकलगायत छन् । चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन विङदे गत वर्ष चैतमा नेपाल भ्रमणमा आएका बेला उनी र प्रधानसेनापति छत्रमानसिंह गुरुङबीच ३ करोड चिनियाँ मुद्रा -करिब ३४ करोड रुपैयाँ) बराबरको सहयोगसम्बन्धी सम्झौतापत्र र ‘प्रोटोकल’ मा हस्ताक्षर भएको थियो ।
सोही सहयोग अन्तर्गत विकास निर्माण कार्यमा प्रयोग हुने इन्जिनियरिङ उपकरण तथा सवारी साधन आउन लागेको हो । ती सामग्रीले माओवादी लडाकुसमेत मिलाएर बनाइने बेग्लै महानिर्देशनालयको पूर्वाधार तयार पार्न सहयोग पुग्ने सैनिक अधिकृतको भनाइ छ । महानिर्देशनालयलाई विकास निर्माण, औद्योगिक तथा वन सुरक्षा र दैवीप्रकोप उद्धार लगायतका जिम्मेवारी दिने दलीय सहमति छ । चिनियाँ पक्षसँग छिट्टै ५ करोड १० लाख चिनियाँ मुद्रा -करिब ६० करोड नेपाली रुपैयाँ) बराबरको दैवी प्रकोप उद्धार र जोखिम नियन्त्रण सम्बन्धी उपकरण तथा सामग्रीबारेको प्रोटोकलमा छिट्टै हस्ताक्षर गर्ने तयारी सेनाले गरेको छ । विङदेकै भ्रमणका बेला १० करोड चिनियाँ मुद्रा -करिब एक अर्ब १५ करोड रुपैयाँ) बराबरको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
त्यसअन्तर्गत ४ करोड ९० लाख चिनियाँ मुद्रा -करिब ५५ करोड नेपाली रुपैयाँ) बराबर सैनिक अस्पतालका लागि उपकरण ल्याउने सम्बन्धी ‘प्रोटोकल’ मा सेनापति गुरुङको गत कात्तिकमा भएको चीन भ्रमणका बेला हस्ताक्षर भएको थियो । ती सामग्रीको सूची त्यतिबेलै उपलब्ध गराइएको र कतिपय निर्माणका क्रममा रहेको सैनिक स्रोतले बतायो । ती सामग्री पनि यसै वर्षभित्र मुलुक भित्रिने सेनाको अनुमान छ ।
अमेरिकाले पनि ११ लाख अमेरिकी डलर बराबर (करिब ८ करोड ८० लाख रुपैयाँ) को दैवीप्रकोप उद्धार र जोखिम व्यवस्थापनसम्बन्धी उपकरण र सामाग्री दिन लागेको छ । अमेरिकाबाट प्राप्त हुने उपकरण र सामग्रीको सूची हेरेर सेनाले ६० करोड बराबरको चीनबाट ल्याउने दैवीप्रकोप उद्धार र जोखिम व्यवस्थापनसम्बन्धी सामग्रीको सूची तयार पारी ‘प्रोटोकल’ मा हस्ताक्षर गर्ने सैनिक तयारी छ ।
‘एकै किसिमका सामग्री र उपकरण धेरै नदोहोरिऊन् भनेर अमेरिकाबाट प्राप्त हुने सामग्रीको सूची हेरेर चीनसँग केके माग्ने निर्धारण गरिनेछ,’ उच्च सैनिक स्रोतले भन्यो, ‘अमेरिका र चीनबाट ल्याइने दैवीप्रकोप उद्धार र जोखि व्यवस्थापनसम्बन्धी सामग्रीले बन्न लागेको महानिर्देशनालयको पूर्वाधार तयार पार्न ठूलो सहयोग पुग्नेछ ।
सैनिक स्रोतअनुसार, त्यसपछि महानिर्देशनालयलाई दिइएको अन्य जिम्मेवारी वन र औद्योगिक सुरक्षाका लागि केही हलुका खाले हतियारको आवश्यकता सेनालाई पर्नेछ । त्यस्ता हतियार भारतीय सहयोगको सूचीमा रहे पनि शान्ति प्रक्रियाका कारण हतियार र गोलीगठ्ठा आयात नगरिएको एक सैनिक अधिकृतले जनाए । ‘सरकारले निर्णय गर्नासाथ भारत पाइपलाइनमा रहेका ती सामग्री पठाउन तयार नै छ,’ सैनिक स्रोतले भन्यो, ‘दलीय सहमतिमा समायोजन प्रक्रिया अगाडि बढ्नासाथ ती सामग्री झिकाउन सकिन्छ ।’



