श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिकमा परिमार्जन

काठमाडौ, पुस २० – सरकारले सञ्चार प्रतिष्ठानमा कार्यरत् श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको न्युनतम पारिश्रमिकमा पुनरावलोकन गरेको छ । न्युनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस अनुसार सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा गत सोमबार राजपत्रमा प्रकाशित गरी पारिश्रमिक बढाएको हो ।

परिमार्जित पारिश्रमिक सञ्चार प्रतिष्ठानमा कार्यरत् श्रमजीवी पत्रकार, कामदार र कर्मचारीलाई लागु हुनेछ ।

परिमार्जन अनुसार राष्ट्रिय सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको न्यूनतम् पारिश्रमिक मासिक १० हजार ८ रुपैयाँ हुने छ । त्यसैगरी अन्य सञ्चार प्रतिष्ठानमा पत्रकारलाई ७ हजार २ सय २८ र कामदार/कर्मचारीलाई ६ हजार ४ सय ५ तोकिएको छ ।

त्यसै‍गरी राष्ट्रिय सञ्चार प्रतिष्ठानका स्ट्रिन्जरलाई न्यूनतम् रेडियोले १२५, पत्रपत्रिकाले १ सय ५० र टीभीले ४०० रुपैयाँ दिनु पर्ने छ र त्यस्तै अन्य सञ्चार प्रतिष्ठानले रेढियोमा १००, पत्रपत्रिकामा १०० र टीभीले ४०० रुपैयाँ प्रति समाचार दिनु पर्ने छ ।

नेपाल पत्रकार महासंघले सरकारी निर्णयको स्वागत गर्दै तत्कालको बजार भाउ, महंगी तथा पत्रकारले जीवन यापन गर्न सक्ने गरी पारिश्रमिकमा परिमार्जनको लागि अध्ययन थाल्न भनेको छ ।