माओवादीलाई फूटबाट जोगाउन प्रचण्ड कसरत

पार्टीभित्रको झगडाले सताउन थालेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उपाध्यक्ष मोहन वैद्यसहितका नेताहरुसँग अलग्गै छलफल गर्नुभएको छ ।

 

पार्टी फूटसम्मको चेतावनी वैद्य पक्षका नेताहरुले दिन थालेपछि प्रचण्डले आज आफ्नै निवास नयाँ बजारमा नेताहरुलाई सम्झाउन बोलाउनुभएको हो । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदनलाई चुनौति दिँदै उपाध्यक्ष वैद्यले अलग्गै प्रतिवेदन पेश गरेपछि विवाद कसरी मत्थर बनाउने भन्नेमा प्रचण्ड लाग्नु भएको हो ।

 

पार्टीलाई फूटबाट जोगाउन वैद्यको विचारलाईसमेत समेट्ने गरी नयाँ प्रतिवेदन ल्याउन अध्यक्ष प्रचण्डलाई केन्द्रीय सदस्यहरुले सुझाएका थिए । यस सन्दर्भमा पनि नेताहरुबीच छलफल हुनेछ । आज बस्नुपर्ने केन्द्रीय कमिटी बैठक सहमतिको पहलकै लागि फेरि स्थगित गरिएको छ । बैठकमा दुबै प्रतिवेदनमाथि सदस्यहरुले बोल्नेक्रम सकाएका छन् ।