चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमणमा



 

काठमाडौं  – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ शनिबार बिहान ११ बजे विशेष विमानबाट काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अपराह्न ४ बजे रियादका लागि प्रस्थान गर्ने भएका छन्।

 

भ्रमणको विषयलाई शुक्रबार रातिसम्म दुवैतर्फका सरकारी अधिकारीहरुले गुपचुप राखे पनि परराष्ट्र मन्त्रालयले अतिथि स्वागतका लागि काम गरिरहेको छ।


नेपाली पक्षले भ्रमणबारे पहिल्यै जानकारी दिएको भन्दै असन्तुष्ट चिनियाँ प्रधानमन्त्री वेन शनिबार करिव पाँच घण्टाका लागिमात्रै नेपाल आउन लागेका हुन् । यसअघिको भ्रमण स्थगनपछि नेपाल वेन आगमनको ‘सकारात्मक’ पखाईमा थियो ।


भ्रमण कार्यक्रम भने परराष्ट्र मन्त्रालयले गोप्य राखेको छ । चिनियाँ प्रधानमन्त्रीको भ्रमणबारे शुक्रबार प्रधानमन्त्री बाबुराम भट्टराईसँग लामो छलफल गरेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्पष्ट खुलाएनन् । ‘खै, कहाँ आउने कुरा भा’छ ?,’ सञ्चारकर्मीसँग बोल्नै नचाहेका उनले भने, ‘आउने भए त तपाईंलाई भनिहाल्थ्यौं नि ।’


स्रोतका अनुसार बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने चिनियाँ प्रधानमन्त्री साँझ कतारको राजधानी दोहा जाने कार्यक्रम छ । केही घण्टाको नेपाल बसाइमा वेनले प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरवारमै भेट्नेछन् । त्यसको तयारी सिंहदरवारमा देखिन्थ्यो । प्रधानमन्त्री कार्यालयमा शुक्रबार साँझ नयाँ रातो कार्पेट विछ्याइएको छ ।


पुस ५ गतेदेखि हुने भनिएको वेनको पूर्वनिर्धारित भ्रमण सुरक्षाको कारण देखाउँदै त्यसको एक साताअघि नै स्थगित भएको थियो । तिब्बती शरणार्थीको बसोबास रहेको काठमाडौंको सुरक्षामा चिन्ता देखाएपछि उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार पुस १० गते विश्वस्त बनाउन बेइजिङ गएका थिए ।


नेपाल र म्यान्मारको एकसाथ हुने भनिएको यसअघिको भ्रमण वेनको व्यस्तताले स्थगित गरिएको भनिएको थियो । यसपटकको भ्रमणमा भने वेन म्यान्मार जाने कार्यक्रम छैन ।


चिनियाँ प्रधानमन्त्रीको भ्रमण स्थगित पछि प्रधानमन्त्री भट्टराई संसद् र आफ्नै पार्टीबाट पनि आलोचित भएका थिए । आफ्नो कार्यकालमा भारत र चीनसँग सम्बन्ध बलियो बनाउने बताउँदै आएका प्रधानमन्त्री पनि आफ्नै कार्यकालमा वेनलाई नेपाल ल्याउने जस लिन चाहन्थे ।


यसअघि सन् २००१ मा चिनियाँ प्रधानमन्त्री झु रोङजी नेपाल आएका थिए । त्यसअघि चिनियाँ राष्ट्रपति जियाङ जेमिन सन् १९९६ मा नेपाल आएका थिए ।