राष्ट्रपति रामबरण यादवद्धारा समयमै संविधान दिन राजनीतिक दलहरुसँग आग्रह

राष्ट्रपति रामबरण यादवले समयमै संविधान दिन राजनीतिक दलहरुसँग आग्रह गरेका छन्।


माघे सक्रान्तिको अवसरमा राष्ट्रपति यादवले संविधानसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुसँग त्यस्तो आग्रह गरेका हुन्।


राष्ट्रपतिको निम्तोमा दिवा भोजका लागि शीतल निवास पुगेका राजनीतिक दलका नेताहरुले करीब तीन घन्टा एक आपसमा छलफलमा बिताएका थिए।


राष्ट्रपतिले शनिबार नेपाल आएका चिनिया प्रधानमन्त्रीले समेत समयमा शान्ति र संविधान आओस् भन्ने चाहना आफुसँग व्यक्त गरेको बताएका थिए।


संविधान बनाउन निर्धारित समय घर्कंदै गएको प्रति नेताहरुलाई सजग गराउनु माघी भोजको मुख्य ध्येय रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।


राष्ट्रपतिलाई उदृत गर्दै उनले भने, “समय घर्किन थालिसक्यो। यो खेर फाल्नै नहुने असाध्यै महत्वपूर्ण समयमा आफ्नो जिम्मेवारी पुरा गर्न सबै दलहरु गंभीर होउन् भन्ने राष्ट्रपतिको आग्रह थियो।”

 

सल्लाहकार दाहालका अनुसार चिनिया प्रधानमन्त्री वेन जियाबाओले शनिबार राष्ट्रपतिसँग नेपालीहरु आफैले समयमै शान्ति प्रक्रिया र संविधान लेखन टुंग्याउन् भन्ने आफुहरुको चाहना रहेको बताएका थिए।