१४० प्रकारका सूचना गोप्य राख्न सरकारले आफ्ना कार्यालयहरुमा पठाएको परिपत्रको नेपाल बार एसोसिएसनद्धारा विरोध

काठमाडौँ – १४० प्रकारका सूचना गोप्य राख्न सरकारले आफ्ना कार्यालयहरुमा पठाएको परिपत्रको नेपाल बार एसोसिएसनले विरोध गरेको छ। शुक्रवार बसेको बारको बैठकले यो निर्णयले स्वतन्त्र प्रेसलाई कमजोर पार्ने ठहर गर्दै संशोधन गर्नुपर्ने माग गरेको छ।


‘२१ ‍औँ शताब्दीमा सूचनाको हक थप सुदृढ गर्नुपर्नेमा नियन्त्रणको दिशातर्फ उन्मुख सूचना गोप्य राख्ने परिपत्रले मानवअधिकारको हनन् गरेकोले उक्त परिपत्रको विरोध गर्दछौँ’ बारका महासचिव विजयप्रसाद मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

परिपत्रमा मन्त्रिपरिषद्‍मा लगिएका विषय र विचाराधीन प्रस्ताव, संवैधानिक परिषद्का सिफारिसहरू, संसद्ले राष्ट्रपतिलाई गरेका सिफारिस, मन्त्रिपरिषद्ले गरेको राजदूतको सिफारिससमेत गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ। त्यसैगरी अख्तियार या प्रहरीले अनुसन्धान गरिरहेका विषयहरूलगायत १४० प्रकारका सूचना गोप्य राख्नुपर्ने भनिएको छ।