समय पाएरपनि सहमति खोज्ने प्रयत्न नगरेको भन्दै साना दल र सभामुखद्धारा मुख्य दलहरुसमक्ष प्रश्न


 

समय पाएरपनि सहमति खोज्ने प्रयत्न नगरेको भन्दै मुख्य दलहरुसमक्ष साना दल र सभामुखले प्रश्न गरेका छन्।

 

विवाद मिलाउन भनेर झण्डै एक महिना लामो समय लिएपनि सहमति खोज्न प्रयत्न नगरेकोमा संविधासभाका अध्यक्ष सुवास नेम्वाङ लगायत संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले तीन प्रमुख दलका नेताहरुसमक्ष प्रश्न उठाएका छन्।

प्रमुख दलका नेताहरुले भने सहमतिबाटै समाधान निस्कने भन्दै आफुहरुले अझ प्रयत्न गर्ने बताएका छन्।


विवाद मिलाउन दलहरुलाई दिइएको समय समाप्त हुन लागेको अघिल्लो दिन संविधासभाका अध्यक्ष सुवास नेम्वाङ र संबैधानिक समितिका सभापति निलाम्बर आचार्यको सक्रियतामा शनिबार दिनभर विभिन्न चरणमा बैठक बसेको थियो।


ती बैठकहरुमा प्रमुख दलका नेताहरुले समय लिएर पनि समाधान नखोजेकोमा प्रश्न गरिएको थियो।


अन्तिममा शनिबारै साँझ अध्यक्ष नेम्वाङको च्याम्बरमा तीन दलका शीर्ष नेताको बैठक बसेको थियो।


अध्यक्ष नेम्वाङले माओवादी अध्यक्ष प्रचण्डलाई उदृत गर्दै भने, “शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया अगाडि बढाउँछौं। अहिलेको संसदको अवरोध पनि दलहरुसँग छलफल गरेर टुंग्याउँछौं।”


उक्त बैठकमा खासगरी संविधासभाको सबभन्दा ठूलो दल एकीकृत माओवादी र दोश्रो ठूलो दल नेपाली कांग्रेसबीच आ आफ्ना अडानमा चर्काचर्की भएको बुझिएको छ।

 

बैठकमा सहभागी नेताहरुले त्यसबारे औपचारिक प्रतिक्रिया दिन भने चाहेनन्।

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्चारकर्मीहरुसँग भने, “भोलि बिहान फेरि बैठक बस्छौं। सबै दलसँगको कुराकानी पछि आपसी सहमति गरेर टुंग्याउँछौं।”