देशका प्रमुख तीन ठूला दलहरुले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा कानुन अनुसार आम्दानी स्रोत अस्पष्ट

एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको चार वर्षको खर्च विवरणमा ती पार्टीहरुले आर्थिक सहायता एवं चन्दा स्वरुप प्राप्त गरेको आम्दानीको स्रोत नखुलाएको देखिएको छ।


जानकारी अनुसार तीन ठूला दलसहित आयोगमा चार वर्षको खर्च विवरण बुझाएका अन्य ३६ वटा दलहरुले पनि कानुनी प्रावधान अनुसार आफ्नो आम्दानीको स्रोत खुलाएका छैनन्।


राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा १२ अनुसार २५ हजार भन्दा बढी आर्थिक सहायता दिने संस्था वा व्यक्तिको नाम पार्टीका खर्च विवरणमा सबै दलले खुलाउनै पर्छ।


निर्वाचन आयोगका सहसचिव मधु रेग्मीका अनुसार २५ हजार रुपैयाँ भन्दा बढी दिने संगठित संस्था वा व्यक्तिको नाम ठेगाना दलहरुले खुलाउनु पर्ने नियम भए पनि त्यसो भएको छैन।