जेलमा रहे पनि गुप्ता अझै मन्त्री!

काठमाडौं, फागुन १२ अन्तिम अदालतबाट भ्रष्टाचार ठहर भई जेल गएका जयप्रकाशप्रसाद गुप्ता अझै सञ्चारमन्त्री छन्। लिखित राजीनामा पठाउनुपर्ने वा दलको सिफारिसमा प्रधानमन्त्रीले हटाउनुपर्ने दुवै नगरिएकाले उनको मन्त्री पद रिक्त भएको छैन।  सभासदबाट हटाइए पनि गुप्ताको सञ्चारमन्त्री पद भने अझै खाली भएको छैन।
 
सार्वजनिक खपतका लागि राजीनामा गरेको मौखिक घोषणा गरे पनि मन्त्री गुप्ताले प्रधानमन्त्रीलाई लिखित राजीनामा बुझाएका छैनन्, प्रधानमन्त्रीले बर्खास्त गरेका पनि छैनन्। जेलरको छाप लगाएर गुप्ताले राजीनामापत्र पठाउन पाउँछन्, तर गरेनन्, स्रोतले भन्यो। फैसलालगत्तै उनलाई जेल चलान गरिए पनि स्वतः पद खाली हुने कानुनी व्यवस्था छैन।
अन्तरिम संविधानअनुसार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ। यसबाहेक प्रधानमन्त्रीले सम्बन्धित दलको सिफारिस वा सल्लाहमा हटाउन सक्छन्। प्रधानमन्त्रीले पनि अझै गुप्तालाई मन्त्रीबाट हटाएका छैनन्। 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा गुप्तालाई अझै चौथो वरियताका सूचना तथा सञ्चार मन्त्री नै देखाइएको छ।