


-अर्घाखाँची डटकम संवाददाता।
अर्घाखाँची, जेठ २ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहीद टंक भुसालको ४४औँ स्मृति दिवस कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।


“शहीद टंक भुसालको बलिदान, समतामूलक समाज निर्माणको अभियान” भन्ने भावनासहित आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम ज्ञानप्रसाद भुसालको सञ्चालन तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य वरिष्ठ वामपन्थी नेता पिताम्बर भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले शहीद टंक भुसालको तस्वीरमा माल्यार्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए ।

सो अवसरमा शहीद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाललाई राजेन्द्र नेपाली र पिताम्बर भट्टराईले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजेन्द्र नेपालीले शहीद टंक भुसालले समाजमा रहेको शोषण, दमन, अन्याय र अत्याचारविरुद्ध संघर्ष गर्दागर्दै तत्कालीन पञ्चायती शासन व्यवस्थाका शासकद्वारा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कुटीकुटी हत्या गरिएको उल्लेख गर्नुभयो ।

उहाँले समतामूलक समाज निर्माणका लागि टंक भुसालले खेलेको भूमिका ऐतिहासिक रहेको बताउँदै उहाँको विचार, संघर्ष र बलिदान नेपाली जनतामाझ सधैं जीवित रहने धारणा व्यक्त गर्नुभयो । “शहीद टंक भुसालले देखाएको बाटोमा अघि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ,” उहाँले भन्नुभयो ।

राजेन्द्र नेपालीले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै वर्तमान सरकार दलाल पुँजीवादी व्यवस्थाको प्रतिनिधि बनेको आरोप लगाउनुभयो । उहाँले सुकुम्बासीमाथि भएको व्यवहारले सरकारको चरित्र प्रष्ट भएको दाबी गर्दै सरकारले जनभावनाविपरीत काम गरे लामो समय टिक्न नसक्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा पिताम्बर भट्टराईले शहीद टंक भुसालको जीवनी तथा उहाँले समाज परिवर्तनका लागि खेलेको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै क्रान्तिकारी महिला सङ्घ की केन्द्रीय सदस्य मिना केसी तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सन्धिखर्क नगर सेक्रेटरी खेमराज भट्टराईले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले शहीदहरूको सपना पूरा गर्न सामाजिक न्याय, समानता र जनअधिकारको पक्षमा निरन्तर संघर्ष आवश्यक रहेको बताएका थिए ।



