पार्टी नेतृत्व अन्य दलहरुसँग मिलेर नयाँ संविधान लेखनमा जुटेका बेला माओवादीको असन्तुष्ट खेमाद्धारा जनसंविधान नबने जलाउने चेतावनी


बैद्य पक्षको पत्रकार सम्मेलनसत्ताधारी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य नेतृत्वको समूहले, उसकै शब्दमा, ‘जनसंविधान नबने’ जलाउने घोषणा गरेको छ।


शनिबार एउटा पत्रकार सम्मेलन गरी उक्त समूहले त्यस्तो चेतावनी दिएको हो।


उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बाहेक उक्त खेमाका अन्य सबैजसो वरिष्ठ नेता सहभागी पत्रकार सम्मेलनलाई संयुक्त राष्ट्रिय जनसंघर्ष समितिको संयोजकको हैसियतले माओवादी सचिव सीपी गजुरेलले सम्वोधन गरेका थिए।


उनले अन्य दलहरुसँग सहमति गरी नयाँ संविधान लेख्ने प्रयासमा जुटेको आफ्नै पार्टी नेतृत्वलाई चुनौति दिँदै भने, “हामी जनसंविधानको पक्षमा छौं, त्यो बनेन भने जलाउँछौं।”


पत्रकार सम्मेलनमा सरकार विरुद्ध खरो रुपमा खनिएका नेता गजुरेलले पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि प्रकट गरे।

 

उनले आफ्नै पार्टी नेताको नेतृत्वको सरकारलाई राष्ट्र र जनविरोधीको संज्ञा दिँदै त्यस विरुद्ध सडक आन्दोलनको घोषणा पनि गरे।

आफूहरुसँगको सहमति विपरित अध्यक्ष प्रचण्डले सरकारलाई जोगाइरहेको उनको आरोप थियो।


सात दिनभित्र प्रधानमन्त्रीलाई राजीनामा गराउने वचन दिएका अध्यक्ष प्रचण्डले पछि नसक्ने जवाफ दिएकाले नै आफूहरुले सरकार विरुद्ध सडक र संसदमा आन्दोलन गर्ने विकल्प रोजेको गजुरेलले जनाए।


गजुरेलले सरकारको विकल्प खोज्न विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेसँग कुराकानी भइरहेको स्वीकार गर्दै त्यो पार्टीको घोषित नीति भएको दावी गरे।


उनले भने, “संविधानसभामा कसरी अगाडी बढ्ने भन्ने कुरा संसदीय बोर्डले निर्णय गर्छ, तर आवश्यक परे सरकार ढाल्न हाम्रो पक्षका सभासदहरुको शक्ति पनि प्रयोग गर्छौं।”


पत्रकार सम्मेलनमा उनले पार्टी नेतृत्वले ‘जनविद्रोह पुरा गर्न सडक सदन र सरकारबाट आवश्यक पहल लिने’ पार्टीको निर्णयलाई अलपत्र पारेको आरोप पनि लगाएका थिए।