चौतर्फी विरोधपछि माओवादी पुष्पकमल दाहालका छोरा प्रकाशद्धारा २ करोड नलिने, फेरी सर्वसाधारणसँग एक – एक रुपैयाँ सहयोग उठाउने घोषणा

– अर्घाखाँची डट्कम

 

– पत्रकार सम्मेलनमा सगरमाथा आरोहण दलका सदस्यसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले बाबुछोरालाई नै बदनाम गर्ने षड्यन्त्र गरिएको बताए । ‘यसमा अध्यक्ष र मलाई व्यक्तिगतरुपमा बदनाम गर्न खोजियो,’ उनले भने ।

 

काठमाडौं – चौतर्फी विरोध भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले ‘लुम्बिनी-सगरमाथा शान्ति अभियान- २०१२’का लागि सरकारी सहायता २ करोड रुपैया नलिने घोषणा गरेका छन्।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफ्नो बाबु-छोरालाई नै बदनाम गराउन खोजिएको बताएका छन्। सगरमाथा चढ्नका लागि सरकारले २ करोड रुपियाँ दिन गरेको निर्णयसँग जोडेर आफूहरुविरुद्ध मानिस लागेका उनले बताए।

 

अभियानले सहायता नलिनेबारे जानकारी गराउन आइतबार माओवादी पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी सहायता नलिने घोषणा गरेको हो । ‘भ्रातृ संगठनको विरोधले सहयोग नलिने घोषणा गरेको होइन,’ अभियान संयोजक माओवादी केन्द्रीय सदस्य कृष्ण केसीले भने, ‘सहयोग रकम द्वन्द्व पीडितका लागि खर्च गर्न सरकारलाई भन्छौं ।’

केसीले सरकारी सहयोगको विरोधमा कांग्रेस-एमालेलगायतका भ्रातृ संगठनले विरोध गरेकोमा असन्तुष्टि पोखे । ‘शान्ति, संविधान र पर्यटन विकासका लागि सगरमाथा आरोहण सुरु गरेका थियौं,’ उनले भने, ‘तर यसलाई रोमान्टिक यात्राकारुपमा बुझियो ।’

टोली नेता केसीले सरकारी सहयोग फिर्ता लिएपछि अब सर्वसाधारणसँग एक-एक रुपैयाँ सहयोग लिएर सगरमाथा चढेरै छाड्ने दृढता व्यक्त गरे ।

सगरमाथा चढ्न पहुँचका आधारमा सहायता दिइएको भन्दै चौतर्फी विरोध भएको थियो ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकलले माओवादी केन्द्रीय सदस्य केसी नेतृत्वको ११ सदस्यीय सगरमाथा आरोहण टोलीलाई दुई करोड रुपैयाँ दिने निर्णय भएको थियो । सरकारी निर्णयको माओवादीकै युवा नेता लेखनाथ न्यौपानेलगायतले ‘पहुँचमा सरकार ढुकुटी दुरुपयोग भएको’ भन्दै आलोचना गरेका थिए ।

अभियान टोली सदस्य शिव डाँगीले सहायताविरुद्ध ‘अनावश्यक लाञ्छाना’ लगाएकाले नलिने घोषणा गरिएको जानकारी दिए । ‘हामीमाथिको दबाबविरुद्ध दबाब दिन यस्तो घोषणा गरेका हौं,’ उनले भने, ‘सगरमाथा चढ्न सरकारले दिएको खर्चलाई अमेरिका जानेजस्तो बनाइयो ।’

‘लुम्बिनी-सगरमाथा शान्ति अभियान- २०१२’का नाममा यस वर्षको वसन्त ऋतुमा पर्वतारोहण गर्ने तयारी छ ।